झापा,चैत २३ । आर्थिक मन्दीको सङ्केत बजारमा देखिइरहँदा राष्ट्र बैङ्कको तथ्याङ्कमा भने निरन्तर सुधार देखिएको छ । व्यापार व्यवसायमा सुस्तता, व्यापारीमा निराशा बढेको तथा उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको अहिलेको अवस्थामा पनि बाह्य क्षेत्र निरन्तर सुधारोन्मुख रहेको राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिएको हो । राष्ट्र बैङ्कका अनुसार शोधनान्तर स्थिति निरन्तर बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढिरहेको छ ।

चालु आर्थिक वर्ष २०८०-८१ को आठ महिनामा चालु खाता एक खर्ब ६६ अर्ब ८७ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको छ ।

चालु आव २०८०-८१ को आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या दुुई लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार २७८ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्