भद्रपुर ,चैत २३ । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानले नेपालको न्यायालय सुशासन कायम गर्न दक्षिण एशियामै उत्कृष्ट रहेको बताएकी छन् ।

पूर्वका अदालतहरुको निरीक्षण गर्ने क्रममा झापा जिल्ला अदालतको निरीक्षणपश्चात् बार एशोसिएसन झापाका कानुन व्यवसायीहरुसंगको भेटघाटका क्रममा उनले सो धारणा राखेकी हुन् । उनले सुशासन कायम गर्न नेपालमा राजनीतिक, आर्थिकरुपमा चुनौती रहेको बताउँदै प्रविधिमैत्री बनाउन राज्यले न्यायपालिकालाई पूर्णता नदिएको गुनासो गरिन् ।

न्यायाधीश मल्लले निष्पक्ष न्याय प्रदान गर्न अदालत कटिबद्ध रहेको बताउँदै फैसला गर्ने क्रममा न्यायाधीशको पक्षमा कोही नरहने धारणा राखिन् । कार्यक्रममा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीलगायतका कानुन व्यवसायीहरुले अदालतबाट न्याय सम्पादनमा हुने ढिलासुस्तीलगायतका बिषयमा जिज्ञासा राख्दै सुधारका लागि विभिन्न सुझावहरु राखेका थिए । एशोसिएसन झापा अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष भिम बराल र संचालन सचिव सन्तोष प्रसाईले गरेका थिए । सोही अबसरमा सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिका २०८० उपयोगिता र कार्यान्वयनमा चुनौती विषयक अन्तरक्रियासमेत गरिएको थियो ।

कानुन व्यवसायी क्षमता अभिबृद्धि समिति झापा बारको संयोजन तथा नेपाल बार एशोसिएसन झापाको आयोजनामा सम्पन्न अन्तरक्रियामा जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्य र कानुन व्यवसायी यज्ञलक्ष्मी चौलागाईले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि जिल्ला न्यायाधीश तेजबहादुर खड्का तथा बरिष्ठ अधिक्ता गजेन्द्र आचार्यले टिप्पणी गरेका थिए । कार्यक्रममा बरिष्ठ अधिवक्ता लेखनाथ निरौलालगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्