भद्रपुर, चैत २५ । यस वर्ष झापा गाउँपालिकामा व्यवसायिक रूपमा ७ हजार हेक्टर जमिनमा उन्नत जातको मकै खेती गरिएको छ ।


गाउँपालिकाको कृषि विकास शाखाको विवरण अनुसार पालिकाभित्र यस वर्ष कृषकहरूले करिव ७ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरेका हुन् ।

गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अन्जु थपलियाका अनुसार किसानको कृषिकर्मप्रतिको सम्मान गर्दै गाउँपालिकाले मल, बीउ, विषादीलगायतका आवश्यक सामग्री सहयोगस्वरूप उपलव्ध गराउन थालेपछि मकै लगायत कृषि उपजमा आत्मनिर्भरको वातावरण बन्दै गएको छ । मकै, धान र तरकारी खेती गर्ने किसानलाई पालिकाले ६० प्रतिशत सिँचाइको लागि विद्युत महशुल तिरिदिँदै आएको थपलियाको भनाइ छ ।

झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजनामार्फत मकै पकेट क्षेत्र घोषणा गरिएपछि किसानलाई मकै खेतीका लागि आकर्षित गर्न आवश्यक मल, बीउ र औजारमा गाउँपालिकाले अनुदान प्रदान गर्दै आएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिइन् ।

कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेट जोन क्षेत्र घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिँचाइको लागि मोटर अनुदान सहयोगमा उपलव्ध गराउँदै आएको छ । पालिकाले सहयोग गरेसंगै झापा गाउँपालिकाभित्र बाझो जमिन देखिन छोडेको छ भने किसानहरू उत्साहित हुँदै आत्मनिर्भर बन्दै गएको कृषि शाखाका नायब प्राविधिक सहायक रिता बर्देवाले जानकारी दिइन् ।

उनका अनुसार झापा गाउँपालिकाभित्र लगाइएको मकै क्षति नियन्त्रणको लागि यस बर्ष शिविर संचालन गरिएको छ । पालिकाभित्र आवद्ध ९२ वटा कृषक समूहलाई आवश्यक तालिम र अनुदानको व्यवस्था मिलाईएको समेत वर्देवाले जानकारी दिइन् । शाखाका अनुसार करिव २८ हजार विगाहमा लगाइएको मकै ३५ लाख मनभन्दा बढी उत्पादन हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्