बिर्तामोड, बैशाख ९ । बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतवारदेखि पदभार ग्रहण गरेको छ ।

अध्यक्षमा विजयी भएका राजु न्यौपाने नेतृत्वको कार्यसमितिले पदभार ग्रहण गरेको हो । २०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति निर्वाचित भएको थियो । संघका अध्यक्ष प्रकाश शिवाकोटीले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार सुम्पिएका हुन् ।

अध्यक्ष न्यौपानेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । यसअघि निर्वाचन समितिका संयोजक नारायणप्रसाद पौडेलले अध्यक्ष न्यौपानेलाई सपथ गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार विल्सनविक्रम राई, सञ्चारकर्मी विष्णुकुल श्रेष्ठ, व्यवसायी कुमार निरौलालाई सम्मान गरिएको छ ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष शिवकोटीले आफूले कोरोनाको संक्रमणको अवस्थामा नेतृत्व लिएको र मानवीय सेवाका क्षेत्रमा धेरै काम गरेको बताए । उनले व्यवसायीको हितमा काम गर्दै पाँच लाख रुपैयाँको ब्यावसायिक राहत कोष स्थापना गरिएको बताए । कोरोना संक्रमणका समयमा ब्यवसायी तथा मजदुरहरुलाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्नुका साथै वाणिज्य संघको गेट निर्माणलगायतका काम गरेको जानकारी दिए । उनले ब्यवसाय प्रवर्द्धनका लागि औद्योगिक कृषि पर्यटन महोत्सव सञ्चालन गर्नुका साथै बैंकको चर्को ब्याजदरविरुद्ध ब्यवसायीको पक्षमा आफू नेतृत्वको कार्यसमितिले आवाज उठाएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष ढकालले १२ वटा बुँदामा कानुन संशोधन हुँदै गरेको भन्दै त्यो संशोधन भएपछि अहिले देखिएको ब्यवसायीको आर्थिक समस्या समाधान हुने विश्वास ब्यक्त गरे । उनले सरकारले निर्माण ब्यवसायीले पाउनुपर्ने रकम नदिएकाले समस्या भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । निजी क्षेत्रलाई चलायमान बनाउन महासंघले विभिन्न पहलहरु गरिरहेको उनको भनाई थियो । ब्यवसायीको संरक्षण स्थानीय सरकारले गर्नुपर्ने भन्दै त्यसतर्फ लाग्न आग्रह गरे । उनले अहिले देशको अर्थतन्त्र धर्मराएको भन्दै निजी क्षेत्रको संरक्षणमा सरकारले चासो नदिएको भन्दै व्यवसाय प्रवर्द्धनमा ध्यान दिनुपर्ने विचार ब्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु उमेश डालमिया, नरेन्द्रकुमार खड्का,सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, मेची भन्सार प्रमुख रामप्रसाद रेग्मी, वडाध्यक्ष अग्नीप्रसाद पाण्डे,नेपाली कांग्रेसका उपसभापति केशवराज पाण्डे, एमालेका जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल, राप्रपा अध्यक्ष केशव ओझा, चिया श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङ, अलैची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईलगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधिलगाायतको उपस्थिति रहेको थियो । पहिलो सत्रको कार्यक्रम निवर्तमान अध्यक्ष शिवाकोटीको अध्यक्षतामा भएको थियो भने दोस्रो सत्रको कार्यक्रम नवनिर्वाचित अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा निवर्तमान जनसम्पर्क उपाध्यक्ष नैनाकला भट्टराईले स्वागत गरेकी थिइन् । पहिलो सत्रको कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव अर्जुन मैनालीले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम नवनिर्वाचित महासचिव कुशल खतिवडाले सञ्चालन गरेका थिए । सोही अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्मित प्रवेशद्वारको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्