भद्रपुर, बैशाख ९ । महाकाव्यकार रघुनाथ राधाशरण रिमाल अपूर्णको शप्तदश संस्कार नामक महाकाव्य विमोचन भएको छ ।


लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर १० चन्द्रगढी स्थित दुर्गा पाञ्चायन मन्दिरको सभाहलमा कवि तथा हाँस्यव्यङ्यकार कोमलप्रसाद पोखरेलले महाकाव्यको विमोचन गरेका हुन् ।

पुस्तकालयका सभापति कृष्ण सुवेदी निराकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै समालोचक जीवनाथ सुवेदीले कृति धार्मिक भावसहित समाजको चित्रण गर्दै नेपालको मौलिक कला र संस्कृतिको दस्तावेजको रूपमा आएको बताए । उनले सामान्यतया हिन्दू परम्पराले १६ वटा संस्कार स्वीकार गरेको भएपनि कृतिकारले महाकाव्यभित्र छैठी संस्कारलाई जोडेर १७ औं संस्कारका रूपमा प्रयोग गरेको जानकारी दिए । समालोचक सुवेदीले महाकाव्यको नियमलाई पूर्ण पालना गर्न नसकेपनि कृतिले आधारभूत नियम पालना गर्दै आख्यान पक्ष दरिलो रूपमा उठाएको समेत स्पष्ट पारेका थिए ।
राधा रिमाल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा भाषासेवी चुडामणि रेग्मी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्कीलगायतले मन्तव्य राख्दै नेपाली महाकाव्य जगतमा शप्तदश संस्कार कृतिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

पुस्तकालयकी उपसभापति खगेन्द्रा खुसीले शब्दमार्फत तथा आराध्या अधिकारी र खुसी रिमालले गीतमार्फत स्वागत गरेको कार्यक्रममा मिना अधिकारी, डिल्लीराज नेपाललगायत विभिन्न कवि कवयित्रीहरूले महाकाव्यभित्रका काव्यिक श्लोकहरू वाचन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्