झापा ,बैशाख १० । झापाको अर्जुनधारा ५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ठूलो मात्रामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नं. ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी रहेका छन् । हिजो दिउँसो अन्दाजी ३ बजेको समयमा बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टाबाट संयुक्त प्रहरी टोली खटिँदा अर्जुनधारा नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी २७ वर्षीय बिमल राई प्रहरीलाई देख्नासाथ फरार भएका थिए ।

संगै रहेका कनकाई नगरपालिका वडा नं. ८ बागेडाँगी बस्ने चौधरीको शरीर तलासी लिँदा उनले कालो प्लाष्टिकले पोकाभित्र सेतो प्लाष्टिकले प्याक गरेको अवस्थामा प्लाष्टिकबाहेक ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । लागूऔषधसहित चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइ थप अनुसन्धान भइरहेको र फरार राईको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्