महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ।

निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो। निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४४ पुगेको हो। गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको संख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।

‘यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्,’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको संख्या बढ्दै गएको छ।’ शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको संख्या पनि बढेको उनले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउँछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्