लक्ष्मी उप्रेती,
प्रहरी नायव उपरीक्षक (डिएसपी) मिमबहादुर लामा अहिले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रमुखको जिम्मेवारीमा छन् । उनले यस कार्यालयको कमाण्ड सम्हालेको धेरै दिन पनि भएको छैन । चिन्नेले उनलाई नेपाल प्रहरीको डिएसपी भनेर मात्र चिन्ने गरेका छन् । अनि थोरैलाई मात्र थाहा छ कि उनी एक बहुमुखी प्रतिभाका धनी हुन् भनेर ।

२०६० सालमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका उनी एक सफल गीतकार, कथाकार र एकैशब्दमा भन्नुपर्दा एक मुर्धन्य साहित्यकारका रुपमा स्थापित छन् । २०६३ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक र २०७५ मा प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा उनी बढुवा भए । साहित्यमा कथा विधा ज्यादै मन पराउने स्रष्टा लामा समाजमा हुने सामाजिक घटनालाई उनेर गीत बनाउन खप्पिस छन् । उनलाई धेरैले भन्ने गरेका छन् कथाकारको रुपमा तपाईको भविष्य राम्रो र उज्जवल छ भनेर ।

‘नाता तोड्यौ, साथ छोड्यौं
जिन्दगीको गोरेटोमा बाटो तिमीले अन्तै मोड्यौ’
छियाछिया भयो मुटु प्रहार हुँदा शब्द बाँण
चोखो माया लाउँछु भन्थ्यौ, किन गर्यौ अपमान….’

अहिले चल्तीका संगीतकार सुरेश अधिकारीले संगीत भरेको तथा युवामाझ लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको यो गीत उनै डिएसपी लामाले लेखेका हुन् । जुन गीतले कयौं सपना देखेर आफ्ना स—साना सन्तान जीवनसंगिनीको संसार सजाउन एउटा पुरुष विदेशिन्छ, तर यता श्रीमती आफ्ना सन्तानलाई छाडेर वेपत्ता हुन्छे र श्रीमान न्यायका लागि प्रशासनमा पुग्छ र आफ्नो पीडा पोख्छ । ती पुरुषको पीडालाई लामाले मन छुनेगरी गीत कोरे र संगीतकार अधिकारीले संगीत भरे अनि गायक खरेलले गीत गाए ।

वैदेशिक रोजगारीमा जाने युवाहरुको मनलाई नै चिसो बनाउने प्रतिनिधिमुलक गीत हो यो । यो निकै लोकप्रिय र चर्चित छ । विदेशिएकाहरु माझ अहिले धेरैले सुन्न थालेका छन् भने विगतमा यस्ता घटना घटिसकेका पीडितहरुले आफ्नो घटना स्मरण गर्ने गरेका छन् । जस्तो घटनालाई पनि गीत बनाउन सक्ने खुवी उनीमा छ । उनले नै लेखेको
‘न आँशुलाई छेक्न सकें, न त कुनै सपना देख्न सकें
उजाड उजाड भयो जिन्दगी, न खुसीको कहानी लेख्न सकें’

लामाको शब्द रचनामा रहेको यो गीतमा सञ्जय सुब्बाले संगीत तथा स्वर दिएका छन् । जुन गीतले एकजना पीडित महिलाको घटनालाई प्रतिनिधित्व गर्दै पीडा बोलेको छ । उनले विभिन्न चेतनामुलक गीत समेत लेखेका छन् ।
‘त्यगौं दुव्र्यसन, त्यगौं लागूऔषध गरौं सत्यकर्म,
अपराध हो यस्तो व्यापार, नगरौं अधर्म,
नबिराऔं बाटो जीवनमा………….’

लागूऔषध नियन्त्रण तथा रोकथामको लागि उनले लेखेको सन्देशमुलक यो गीतले पनि निकै चर्चा बटुलेको थियो । जुन गीतमा सञ्जय तुम्रोक लिम्बूको स्वर, भोलाराज खनालको संगीत र दीपक विश्वकर्माको एरेञ्ज रहेको छ ।
गीतकार लामाले महिला प्रहरी कर्मचारी संघको कार्यक्रमलाई समेटेर महिला प्रहरी गीत पनि लेखेको भन्दैं आफ्ना अधिकांश गीतमा नेपाल प्रहरीको संगीत शाखाको महत्वपूर्ण सहयोग रहेको सुनाउनसम्म भ्याए । ‘बुद्धको शरण’ भजन पनि उनको निकै लोकप्रिय छ । शान्तिका अग्रदूत भगवान गौतम बुद्ध जयन्तीका अवसरमा यो भजन सार्वजनिक भएको थियो ।
‘जाउँ सबैले बुद्धको शरण, हुन्छ सबै दुःखको हरण
बुद्धको महिमा जगतैभरि छ, बुद्धभूमि यो स्वर्गसरी छ ’

बोलको भजनमा उनै सञ्जय तुम्रोक लिम्बूको स्वर, भोलाराज खनालको संगीत छ । सबै धर्मलाई उत्तिकै आदर र सम्मान गर्नुपर्ने उनको धारणा छ ।
गीतकार लामा आधुनिक गीत र भजनमात्र होईन, प्रेमगीत लेख्न पनि उत्तिकै धारिलो छन् ।
‘तिमी छौ र म छु, नभए मेरो के अर्थ,
चोखो लाग्छ सधै तिम्रो मायालु स्पर्श’

यो उनको प्रेमगीत हो । यो गीतले प्रेम र माया बोलेको छ । यसको म्यूजिक भिडियोमा समिप निरौला र शिला क्षेत्रीले अभिनय गरेका छन् । लामाको शब्द दीपकराज विश्वकर्माको संगीत र एरेञ्जर अनि सुरेश लामा र केशाङ लामाले गाएको उनको यो निकै लोकप्रिय गीत हो । गीतकार लामा जस्तोसुकै सामाजिक घटनालाई शब्दमा उतारेर मर्मस्पर्शी र भावुक बनाईदिने गीत लेख्छन् । उनले लेखेको राष्ट्रभक्तिले ओतप्रोत भएको

शान हो हाम्रो देशको शीर सगरमाथा
हिमनदी र छहराले गाउँछ वीर गाथा’

बोलको गीत ‘कान्तिपुर म्यूजिक अवार्ड २०७९ ’को ‘टप’ पाँचमा पर्न सफल भएको थियो । सञ्जय तुम्रोक लिम्बूको स्वर र भोलाराज खनालको संगीत रहेको यो राष्ट्रिय गीत लेख्दैं गर्दा गीतकार लामा त्यसवेला जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रमुख थिए ।संयुक्त राष्ट्रसंघको शान्ति मिशनको सिलसिलामा अफ्रिकी मुलुक सुडान, युगाण्डा, केन्याका साथै अन्य मुलुकहरु इटाली, स्विटजरल्याण्ड, इजिप्ट, अष्ट्रिया, जर्मनीलगायतका देश पुगेका उनको
व्यस्त व्यस्त यो शहरमा तनावै तनाव छ कामको,
जति नै मरिमेटे पनि कमी छ सँधै दामको’

बोलको गीतले मानिसलाई कामले व्यस्त बनाएको र कामको तनाव सीमित आयस्रोत र बढ्दो महँगीले घर चलाउन सक्नुु परेको चित्रण गरेको छ ।

साविक काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविस ७, हाल भुम्लु गाउँपालिका १० मा २०३४ सालमा जन्मिनु भएका साहित्यकार लामाले २०५० सालमा गाउँकै भगवती माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए । उनले ग्रामीण विकासमा एमए र कानूनमा एलएलबी गरेका छन् । उनी एक सफल गीतकार र कथाकार मात्रै नभई अव्वल प्रहरी अधिकृत पनि हुन् । उनले हतियार र कलमलाई सँगसँगै लगेका छन् । नेपाली प्रहरी संगठनमा उनले आफूलाई लगनशील, इमान्दार र स्वच्छ छबिका रुपमा उभ्याएका छन् । प्रहरीको काम कर्तव्यलाई सर्वाेपरी ठान्ने डिएसपी लामाले समाजमा ‘प्रहरीहरु अन्य मानिसभन्दा कडा मिजास र माया दया नहुने मान्छे हुन्’ भन्ने आम सर्वसाधारणको बुझाईलाई झुटो बताउँछन् ।

आफ्नो कर्तव्यमा खटिएका बेला आफूलाई यो देशको सच्चा प्रहरी र कुनै सिर्जना लेख्न बस्दा विशुद्घ लेखकका रुपमा लिन्छन् गीतकार लामा । उनी जे काम पनि मन लगाएर गर्छन् । उनलाई नजिकबाट चिन्नेहरु भन्छन् ‘बन्दुक र संगीत परस्पर विरोधी शब्द जस्ता लाग्छन् तर, डिएसपी लामा राष्ट्रको सुरक्षासंगै लामो समयदेखि साँगीतिक र साहित्यका क्षेत्रमा पनि सक्रिय छन्।

वाल्यकालदेखि नै लेख्ने बानी ,कडा मेहनत , कामप्रतिको जिम्मेवारीका कारण उनले अहिले सफलताको शिखर चुम्दैछन् । सानै उमेरबाट विद्यालय पढ्दादेखि नै उनले विद्यालयमा हरेक साता हुने अतिरिक्त क्रियाकलापअन्तर्गत साहित्य गोष्ठीमा कथा , कविता, निबन्ध लेख्ने गर्थे । उनका थुप्रै गीत म्युजिक भिडियो युट्युबमा हेर्न पाइन्छ । तर, म्यूजिक भिडियो बनाउँदा खर्चिलो हुने र धान्न गाह्रो पर्ने उनको अनुभव छ । रौनक फेरिएको जात्रा, मूल्यहीन सिक्का बन्द नभएको आरन उनका निकै चर्चित कथाहरु हुन् । ‘साहित्य समाजको दर्पण हो, दृश्य हो समाजमा हुने घटना नै साहित्य लेखनका सामग्री हुन्’ उनले भने, ‘म यसबाट आर्थिक संकलन गर्नेभन्दा पनि सौखका लागि साहित्य सिर्जना गर्ने गर्दछु ।’ पछिल्लो समय डिएसपी लामा राम्रो गीतकार र साहित्यकारको रुपमा आफूलाई पाठकसामु उभ्याउन सफल भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्