झापा , बैशाख ११ । झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।


गाउँपालिकाभित्र अध्ययनरत कक्षा ११ र १२ का ६३० जना विद्यार्थीलाई वार्षिक कार्यतालिका अनुसार शिक्षा समितिले छात्रवृत्ति वितरण गरेको हो ।

शिक्षा समिति अध्यक्ष एवं गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाका अनुसार गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न वर्गका भएकाले रकम अभावका कारण कुनै पनि विद्यार्थीले उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति वितरण गर्ने गरिएको छ ।

कार्यवाहक अध्यक्ष थपलियाका अनुसार पालिकाले छात्रवृत्तिस्वरुप कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार २ सय ५० रुपैयाँ र कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार २ सय रुपैयाँका दरले र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ ।

शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालका अनुसार ११ र १२ पठनपाठन हुने जनकल्याण माविमा अध्ययनरत ५६ विद्यार्थी ,डिल्लीराज माविमा अध्ययनरत ३५२ विद्यार्थी र जनता माविमा अध्ययनरत २२२ विद्यार्थीलाई पालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो ।

झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक , १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा विद्यालय संचालनमा रहेको शिक्षा प्रमुख ढकालले जानकारी दिए ।

झापा गाउँपालिकाले विगत २०७५ सालदेखि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको छ भने विद्यार्थीलाई विद्यालय जाने वातावरण बनाउने उद्देश्यले प्रत्येक वर्ष कक्षा ९ मा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई साइकलसमेत वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्