झापा, बैशाख १२ । झापाका इसाईहरुले आफूहरुको एकतालाई अझ बलियो बनाउने भएका छन् ।

झापा इसाई समाजको हिजो बिर्तामोडमा आयोजित २५ औं वार्षिक उत्सव तथा रजत महोत्सवमा सहभागी धार्मिक अगुवाहरुले इसाईहरुबीचको एकतालाई अझ बलियो बनाएर देश र समाजको विकास निर्माणमा लागिपर्ने बताएका हुन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र भइसकेकाले राज्यले एउटा धर्मलाई मात्र पक्षपोषण गर्न नहुने धारणासमेत उनीहरुले राखेका थिए । आफूहरुमाथि लागेको धर्मान्तरणको आरोप मिथ्या भएको भन्दै उनीहरुले आफूहरुले मानिसको धर्म नभएर मन परिवर्तन गर्ने गरेको दावी गरे । झापा इसाई समाजका अध्यक्ष पाष्टर अम्बर आले मगरको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला इसाई समाज रजत महोत्सवका संयोजक पाष्टर राजकुमार नाछिरिङ राईले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख संग्रौला , पाष्टर प्रकाश सुब्बा , पाष्टर दानियल सुब्बा , पाष्टर महेन्द्रजंग साम्पाङलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा झापा इसाई समाजका संस्थापक , पूर्व अध्यक्ष , सहयोगी, जग्गादातालगायत १८ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा एनडी थुलुङ, दानियल सुब्बा , जयकुमार चाम्लिङ, तारा तामाङ, एनोश गजमेर , रमेश गुरुङ, गोपाल खनाल ,धनबहादुर तामाङ, रुबेन राई ,ध्रुवकुमार शिवाकोटी , तारा चाम्लिङ, किस्मती खनाल , कविता गुरुङ, कमला धमला , ताराकर्ण राई , सीता तामाङ राई र महिमा फर्निचर रहेका छन् । त्यस अवसरमा झापा इसाई समाजको स्मारिका विमोचनसमेत गरिएको थियो । कार्यक्रमको संचालन सचिव राजु चाम्लिङले गरेका थिए । झापामा ४० हजारको हाराहारीमा इसाईहरु रहेको अनुमान गरिएको छ । जिल्लामा ४ सयवटा चर्च रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्