झापा, बैशाख १४ । हात्तीपाइले रोग देखिएपछि झापाका ६ जनालाई वैदेशिक रोजगारबाट फकाईएको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनीहरुमा हात्तीपाइले रोगको संक्रमण देखिएपछि नेपाल फर्काइएको हो । मेचीनगर नगरपालिकाका ३ जना ,बाह्रदशीका २ जना र कचनकवलका एकजना पुरुषलाई मलेसियाबाट फर्काइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापाका अरु पालिकाका अन्य व्यक्तिहरुलाई पनि हात्तीपाइले रोगकै कारण विदेशबाट फर्काएको सुनिएपनि पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए । यसै वर्ष उनीहरु नेपाल फर्काइएका हुन् ।
कोशी प्रदेशका १४ वटा जिल्लामध्ये १३ वटा जिल्ला हात्तीपाइलेको संक्रमणबाट मुक्त भइसकेकेका छन् । तर, झापा भने विगत १३ वर्षदेखि हात्तीपाइले रोगसंग लड्दै आएको छ । अधिकांशले औषधि सेवन नगरेका कारण झापामा सन् २०१२ देखि शुरु हात्तीपाईले रोगबिरुद्धको आम औषधि खुवाउने अभियान अझै जारी छ ।सन् २०२३ सम्ममा ६४ प्रभावित जिल्लाहरुमध्ये ५७ जिल्लाहरुमा अभियान सम्पन्न भई औषधि खुवाउने अभियान बन्द गरिएको छ भने झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलबस्तु गरी ७ जिल्लाहरुमा भने यही बैशाख १६ देखि ३० गतेसम्म आम औषधि खुवाउने अभियान संचालन हुन लागेको हो ।
हात्तीपाईले (फाईलेरिया) रोग मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्गता गराउने सरुवा रोग हो।यो एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीको संक्रमणले गर्दा हुन्छ।यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सार्दछ। यस रोगका लक्षण तथा चिन्हहरु प्राय लामो समयपछि मात्र देखा पर्दछ।मानिसको शरीरमा यस रोगको परजीवी प्रबेश गरेको ८ देखि १६ महिनामा मात्र यस रोगको लक्षण देखिन्छ।शुरुका अवस्थामा ज्वरो आउने, जाडो हुने, शरीरमा कम्पन आउने, लिम्फ नलीहरु सुन्निने, रातो हुने, हात गोडामा नीला काला धर्साहरु देखिने, शरीरमा भएका गिर्खाहरुको आकार बढ्ने, दुख्ने, पुरुषको अण्डकोष वरपरका नसाहरु सुन्निने, दुख्ने, अण्डकोष सुन्निने, दुख्नेजस्ता लक्षण चिन्हहरु देखिन्छ। शुरुका अवस्थामा औषधि उपचार गरेमा यो रोग पूर्ण रुपमा निको हुन्छ।तर समयमा उपचार नपाएमा संक्रमण भएको १०–१५ वर्षमा यस रोगको दीर्घकालीन असरहरु देखिन्छ जस्तैः खुट्टा फुलेर हात्तीको जस्तो खुट्टा हुने, हात फुल्ने, पुरुषमा हाईड्रोसिल हुने, महिलाको स्तन र योनाङ्ग सुन्निने आदि।यी समस्याहरु पूर्ण रुपमा स्थायी प्रकृतिको हुन्छ अर्थात कहिल्यै निको नहुने प्रकृतिको हुन्छ र यसले मानिसलाई कुरुप, अशक्त र अपाङ्गता गराउँदछ।
सबै जिल्लाबासीहरुले औषधि खाएमा यस वर्ष झापा जिल्लाको लागि यो अभियान अन्तिम बनाउने प्रयासमा रहेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए ।