इलाम, बैशाख १५ । इलाम क्षेत्र नं. २ मा मतदान शुरु भएको छ। सबै १४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।


शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएको उनले बताए।
यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी छन्।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम–२ मा निर्वाचन भइरहेको हो। यहाँ १९ जना चुनावी प्रतिस्पर्धामा छन्। नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रमा मतदान गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले माङसेबुङ– २ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्