झापा,बैशाख १६ । झापा जिल्लाका १५ वटै पालिकामा आइतवारदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने अभियान शुरु भएको छ ।

जिल्लाका १५ वटै पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आआफ्ना पालिकामा आइतबार बिहान हात्तीपाइलेविरुद्धको औषधि खाएर अभियानको सुरुवात गरेका छन् ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलालगायतले औषधि खाएर अभियान सुरुवात गरेका थिए । नगरमा स्वास्थ्यकर्मीहरूको टोली पहिलो चरणमा विद्यालय र दोस्रो चरणमा घरदैलोमार्फत औषधि खुवाउने कार्यक्रम रहेको छ । झापासहित सात जिल्लामा आयतवारदेखि बैशाख ३० गतेसम्म आम औषधि खुवाउने कार्यक्रम रहेको छ । झापामा विगत १३ वर्षदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान जारी छ । डर त्रासका कारण अधिकांशले औषधि सेवन नगर्दा जिल्लामा अभियान सफल नभएको हो ।

यस पटक अन्तिम अभियान बनाउन पालिकाका जनप्रतिनिधिसहित सरोकारवाला पक्ष सबै लागिपरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक जिल्लामा साढे ९ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले मात्र औषधि खाएका थिए । यस पटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाईसहित अन्य केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेको छ । औषधि खाएका व्यक्तिले कार्ड लिनुपर्ने हुन्छ । कार्ड लिएर पालिकामा गए मात्र सेवा सुविधा पाउने निर्णय नै गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्