बिर्तामोड, बैशाख १६। बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधि खाएर अभियानको शुभारम्भ गरिन् ।

संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरवासी सबैलाई औषधि अनिवार्य सेवन गर्न आग्रह गरिन् । उनले घरघरमा आउने स्वास्थ्यकर्मी वा पायक पर्ने केन्द्रमा पुगेर औषधि सेवन गर्न र यसबाट हुने संक्रमणबाट बच्न सबैलाई आव्हानसमेत गरेकी छन् ।
कार्यक्रममा उप प्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्यलगायत विभिन्न शाखाका कर्मचारीहरुले औषधि खाएका थिए ।
बिर्तामोडमा औषधि खुवाउने अभियानका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका गरि १ सय ३० जना परिचालन गरिएको छ । उनीहरुले घरघरमा पुगेर औषधि खुवाउने छन् । यसैगरी बिर्तामोडका ८ वटा अस्पतालहरुमा पनि केन्द्र राखिएको छ । जसमा बिर्तामोड नगरअस्पताल, बीएण्डसी अस्पताल, मनमोहन अस्पताल, कनकाई अस्पताल, विर्तासिटी अस्पताल, मेची आँखा अस्पताल र दृष्टि आँखा अस्पताल रहेका छन् । यसैगरी इलाम बस स्टेण्ड ( केयर फास्ट फार्मेसी अगाडि), शनिश्चरे बस स्टेण्ड, पश्चिम बस स्टेण्ड र भद्रपुर बस स्टेण्ड अगाडि पनि औषधि सेवन केन्द्र राखिएको नगरका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले जानकारी दिए ।
बिर्तामोड नगरपालिकामा ५ जना हात्तीपाइले रोगबाट संक्रमित छन् । हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने यो अन्तिमपटकको अभियान हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ ।
झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई बैशाख १६ देखि ३० गतेसम्ममा औषधी खुवाउने अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए ।
कोशी प्रदेशका झापाबाहेकका १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ । हाल झापामा २ सय ८० जनाभन्दा बढी रोगी पहिचान भएका छन् । ‘यस वर्ष एकपटक, अन्तिमपटक’ नाराका साथ सञ्चालित अभियानलाई सफल बनाउन झापामा सात सय ५० स्वास्थ्यकर्मी र छ सय छ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।