लक्ष्मी उप्रेती
मेचीनगर । सीमानाकामा रहेर मानव बेचबिखन नियन्त्रण तथा रोकथाममा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय काँकरभिट्टा , सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा र साना हातहरु नामक संस्थालाई सम्मान गरिएको छ ।


मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्यको अभियान भन्ने मुल नारासहित गैरसरकारी संस्था आफन्त नेपालले परियोजना समीक्षा कार्यक्रमको अवसरमा दुईवटा सुरक्षा निकायसहित तीनवटा संस्थालाई सम्मान गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मीमबहादुर लामा, सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठ र साना हातहरु संस्थाका रमेश गुरुङलाई सम्मानपत्र प्रदान गरेकी थिइन् ।

संस्थाका अध्यक्ष एवम् क्षेत्रीय व्यवस्थापक उषा गुरुङको सभापतित्वमा भएको कार्यक्रममा मानव बेचबिखन र लैङ्गिक हिंसामा परेका र हिंसाको उच्च जोखिममा रहेका महिला तथा बालबालिकाहरुको उद्धार, पुनःस्थापना कार्यको लागि समन्वय र सहकार्यको निम्ति अहम् भूमिका निर्वाह गरेको भन्दै सम्मानपत्र प्रदान गरिएको हो ।

संस्थाका काँकरभिट्टा शाखा प्रमुख मातृका गुरुङ(सरोज)ले संस्थाले सन् २०२२ र २०२३ मा गरेका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।सन् २०२२ मा संस्थाले काँकरभिट्टा नाकामा ३ हजार १ सय ४५ र सन् २०२३ मा ६ हजार ३ सय ८३ जनालाई सूचना सम्पे्रषण गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, क्रमशः १ हजार २ सय ९ र १ हजार ७ सय २३ जनालाई परामर्श सेवा, १ सय १६ र १ सय २५ जनालाई उद्धार तथा अवरोध, ८९ र १ सय २१ जनालाई प्रहरीको सहयोगमा घटना व्यवस्थापन, ४५ र ९४ जनालाई आपतकालीन आवास गृह सेवा प्रदान, १ सय ९ र १ सय ११ जनालाई पारिवारिक पुनःमिलन, ३÷३ जनालाई कानूनी सहायता र ७ र १३ जनालाई सेफ होममा राखेको प्रतिवेदनमा उल्लेख छ ।

शाखा प्रमुख गुरुङले प्रस्तुत गरेको दुई वर्षको प्रतिवेदनमा विभिन्न सीपमुलक तालिमका लागि २० जनालाई पुनःस्थापना केन्द्रमा सिफारिस गरेको उल्लेख छ । संस्थाका कर्मचारी कृतिका थामीले स्वागतसहित आफ्नो विगत र वर्तमान प्रस्तुत गर्दै अहिले आफ्नो लागि आफन्त नेपाल साँच्चैको आफन्त भएको स्पष्ट पारिन् ।संस्थाका कर्मचारी सीता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मानव बेचबिखन नियन्त्रणमा कसैको पनि एक्लो प्रयास सफल नहुने भन्दै सवैको भूमिका उत्तिकै आवश्यक पर्ने बताएका थिए । यसका लागि हरेकले एकआपसमा हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए । विगतको तुलनामा नेपालको सामाजिक तथा राजनीतिक स्वरूपमा परिवर्तन र सुधार आए पनि मानव बेचबिखन तथा ओसारपसारका प्रवृत्ति र समस्यामा भने कमी नआएको बोल्ने वक्ताहरुले टिप्पणी गरेका थिए । कमजोर आर्थिक अवस्था, जानकारीको अभाव, बेरोजगारी, घरेलु हिंसा, पारिवारिक संरक्षणको अभाव हुनु मात्र बेचबिखनका कारण नभई भड्किलो जीवनशैली वा विलासिताको चाहना हुनु तथा कम मेहनतमा धेरै धन कमाउने आकांक्षाले पनि मानिसहरू विभिन्न जोखिममा पर्दै आएको प्रमुख अतिथि उपप्रमुख उप्रेतीले बताइन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख, प्रहरी नायव उपरीक्षक मीमबहादुर लामा, माइती नेपालका गोविन्द घिमिरे, साना हातहरुका रमेश गुरुङलगायतले बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्