झापा,बैशाख १९ । ताप्लेजुङ कारागारमा रहेका कैदी बन्दी (थुनुवा) लाई लागू औषधसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कारागारमा रहेका कैदी तथा थुनुवालाई लागू औषधसम्बन्धी प्रशिक्षण दिएको हो।

जिल्ला कारागार कार्यालयको समन्वयमा कैदीबन्दीलाई लागू औषधसम्बन्धी प्रशिक्षण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए । कारागारभित्र आयोजित कार्यक्रममा ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले कैदी तथा थुनुवालाई प्रशिक्षण दिएका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका लुङगेलीका अनुसार लागू औषध मुद्दामा सजाय भोग्दै आएका चारसहित १५० जना कैदी तथा थुनुवालाई लागू औषधसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। लागू औषध तथा कसुर पनरावृत्ति हुन नदिन साथै समाजमा पुनःस्थापना हुँदा सकारात्मक सोच अभिवृद्धि गराउने उद्देश्यले कैदी तथा थुनुवालाई प्रशिक्षण प्रदान गरिएको प्रहरीले जनाएको छ।

जिल्ला कारागार कार्यालय प्रमुख कुलेन्द्र खबाससहितको उपस्थितिमा लागू औषधसम्बन्धी प्रशिक्षण सम्पन्न गरिएको छ। यता पछिल्लो समय लागू औषधका प्रयोगकर्ता तथा कारोबारी बढ्दै गएको पाइएकाले यसतर्फ सचेत रहँदै जनस्तरसम्म सचेतना प्रवाह गर्न आवश्यक रहेको प्रहरीले जनाएको छ। हाल प्रहरीले गाउँ, नगर तथा टोलटोलमा सञ्चालन गर्दै आएको समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत लागू औषधसम्बन्धी सचेतना प्रवाह गर्दै आइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्