झापा, बैशाख २३ । पाँच दिनअघि बिर्तामोड ४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा दुईवटा स्कुल बस एकापसमा जुधे । तीब्र गतिका कारण तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस जुध्दा चालक र सहचालक गरी दुईजना घाइते भए । सो घटना भएको पाँच दिनपछि आज बुद्धशान्तिस्थित बुधबारे पुलचोकको हडिया पुलमा एरा एभरग्रीन स्कुलको बस पल्टिएको छ ।

गत मंगलवार बिर्तामोडमा दुर्घटना हुँदा र आज बुधवारेमा दुर्घटना हुँदा ती स्कुल बसमा विद्यार्थी सवार थिएनन् । जसबाट ठूलो क्षति हुन जोगियो । झापाका विभिन्न विद्यालयका स्कुल बसहरु तीब्र गतिमा चलाउने गरेको पाइएको छ । चालकको लापरवाहीका कारण स्कुल बस दुर्घटना बढ्दै गएको छ । चालकलाई सचेत नगराए अझ ठूलो दुर्घटना हुने देखेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्कुल बसका चालक तथा सहचालकहरुलाई अभिमुखीकरण गर्न थालेको छ ।

यसक्रममा शुक्रवार बिर्तामोडको न्यूटन्स् एजुकेशन एकेडेमी र तक्षशिला एजुकेशन फाउन्डेशनमा कार्यरत सवारी चालक तथा सहचालकहरुलाई कार्यालयमा उपस्थित गराई ट्राफिक सचेतना तथा अभिमुखीकरण कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख , प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । उनले दुई–दुई वटा विद्यालयको दरले जिल्लाका सबै विद्यालयका सवारी चालक र सहचालकहरुलाई अभिमुखीकरण गरिने जानकारी दिए ।

गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । झापामा गति मापन गर्ने यन्त्र नभएका कारण सवारी साधनको गति मापन गर्न सकिएको छैन । स्कुल बसका चालकहरुलाई नसिहतसहित संझाउने बुझाउने गरिएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्