झापा,बैशाख २३ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान वर्गीकरणको कार्यलाई तीव्रता दिएको छ । त्यसका लागि किसानलाई सूचीकृत गर्ने कार्य गरिरहेको छ । कृषि मन्त्रालयले शुक्रबारसम्म १६ लाख ५५ हजार किसान घरपरिवार सूचीकृत गरिसकेको छ ।

कृषि मन्त्रालयले आर्थिक वर्षको अन्तिमसम्म १८ लाख किसान घरपरिवार सूचीकृत गर्ने लक्ष्य राखिएको सो मन्त्रालयका सहसचिव प्रकाश सञ्जेलले जानकारी दिए । आगामी आवमा किसान सूचीकरण गर्ने कार्य सकाएर नमुनाका रूपमा भए पनि केही किसानलाई परिचयपत्र वितरण गर्ने तयारी रहेको उनले बताए । राष्ट्रिय जनगणना २०७८ का अनुसार ४१ लाख घरधुरी किसान छन् । त्यसलाई आधार मान्ने हो भने अगामी आवमा २३ हजार घरधुरी किसानलाई सूचीकरण गर्नुपर्ने हुन्छ । हाल दैनिक तीन हजारका दर किसान सूचीकृत भइरहेका छन् ।

यो हिसाबले अगामी आवमा किसान सूचीकृत गर्ने कार्य सकिने आफूहरूको आकलन रहेको बताउँदै उनले सूचीकृत किसानलाई परिचयपत्र पनि वितरण गर्ने योजना रहेको बताए । यी सब काम गर्नका लागि बजेट चाहिन्छ, समयमा चाहिएको जति बजेट प्राप्त भयो भने सबै काम तोकिएको समयमा सकिने उनले दाबी गरे । मन्त्रीस्तरीय निर्णयबाट बनेको कार्यविधिका आधारमा किसान सूचीकरणको काम भइरहेको छ । यसलाई पूर्ण रूपमा सञ्चालन गर्नका लागि किसान सूचीकरण सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०८१ को मस्यौदा तयार भएको छ । सो मस्यौदा मन्त्रालयमा छलफलका लागि पठाइएको बताउँदै सहसचिव सञ्जेलले अगामी आवमा निर्देशिका पनि कार्यान्वयनमा ल्याएर काम थालिने बताए ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली–२०८० पारित भएको छ । त्यसमा पनि किसान वर्गीकरणको कुरा समावेश छ । सो नियावलीको आधारमा निर्देशिका बनाएर कामलाई अगाडि बढाउने र पछि यसको छुट्टै नियमावली बनाउने उनले बताए । सूचीकरण भइसकेका किसानलाई वर्गीकरण गरी त्यसलाई परिचयपत्र दिने र त्यसैका आधारमा सेवासुविधा वितरण गर्ने तयारी भइरहेको कृषि मन्त्रालयले जनाएको छ ।

एउटा किसानको सम्पूर्ण विवरण सरकारले सङ्कलन गरिसकेपछि त्यसको तह निर्धारण गर्ने छ र सोही तह अनुसार किसानलाई परिचयपत्र दिएर सुविधा दिनुका साथै कृषिको योजना तथा कार्यक्रम तयार गर्ने उनले जानकारी दिए । किसानको विवरण सङ्कलन गरिसकेपछि प्रणालीमा सम्बन्धित किसानको व्यक्तिगत खाता पनि सिर्जना गरिने छ र सोही खाताका आधारमा किसानलाई सङ्केत नम्बर दिइने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्