झापा, बैशाख २७ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। नयाँ सरकार गठनका लागि खापुङले वैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन्। प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न उनले भनेका छन्।

सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री कार्कीले मंगलबार राति १२ बजेसम्ममा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो। तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

प्रदेश सभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भए पनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखलाई बोधार्थ दिएर एमाले र माओवादी संसदीय दललाई दिएको थियो।
मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेश सभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा. दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हुन्।

नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखको कार्यालयले बुधबार साढे ३ बजेदेखि कानूनी छलफल गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्