झापा,बैशाख २७ । २०६८ सालयता झापामा हात्तीको आक्रमणमा परी ६० नेपाली र सात विदेशी नागरिकले ज्यान गुमाए । हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई राज्यले सात करोड १९ लाख ७० हजार ६९७ रुपैयाँ राहत वितरण गर्यो । मानव–हात्तीबीचको द्वन्द्वमा परी २० वटा हात्तीलेसमेत ज्यान गुमाउनु पर्यो । तर, यतिका धेरै हात्तीलाई मानिसले मारिरहँदा अहिलेसम्म कसैमाथि पनि कार्वाही हुन सकेको छैन । मानव–हात्तीबीचको द्वन्द्वमा अपराध बढिरहँदासमेत कार्वाही गर्न नसक्नु वन्यजन्तुको संरक्षणप्रति प्रहरी प्रशासनको लाचारीपन प्रष्ट भएको छ ।

झापामा हालसम्म मरेका २० वटा हात्तीमध्ये कालगतिले मरेका हात्तीको संख्या न्यून छ । गत बैशाख ४ गते मेचीनगर नगरपालिका– १२ स्थित कालिका सामुदायिक वनभित्र दुवै दाह्रा काटिएको ४० वर्षको बयस्क हात्ती मृत फेला पर्यो । पुच्छर र दाह्रा नभएको हात्तीलाई तस्करले गोली हानेर मारेको डिभिजन वन कार्यालयले निष्कर्ष निकाल्यो । “हात्तीलाई गोली हानेर मारिएको रहेछ”, डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले भने,“मारिएको हात्तीको दाह्रा र पुच्छर नहुनुले झापामा हात्ती तस्करी गर्ने समूह सक्रिय रहेको पुष्टि हुन्छ, हामी हात्ती मार्ने गिरोहको सुक्ष्म ढङ्गले खोजी गरिरहेका छौँ ।”

यसअघि २०७७ कात्तिक १४ मा बुद्धशान्ति गाउँपालिका–५ को पाँचपोखरी सामुदायिक वनमा पनि दाह्रा र पुच्छर नभएको अवस्थामा मृत हात्ती फेला परेको थियो । हात्तीको ढाडमा गोलीको खत भेटिएको हुँदा तस्करले मारेको ठहर गरिएको थियो । यी घटनाबाट झापामा हात्ती मार्ने तस्कर समूह सक्रिय बन्दै गएको प्रष्ट हुन्छ ।

हात्ती तस्करीसंगै जिल्लामा करेन्ट लगाएर धेरै हात्तीलाई मारिएको छ ।आहाराको खोजीमा आउने हात्तीलाई करेन्ट लगाएर मार्ने आपराधिक प्रवृत्ति बढिरहँदा त्यसलाई उचित ठहर्याउन खोजिएको छ । हात्तीलाई करेन्ट लगाएर मारेको स्पष्ट रुपमा देखेपनि प्रहरी प्रशासनले कार्वाही गर्ने हिम्मत गर्न सकेको छैन । “यहाँ विद्युतीय तारबारमा परेर र पारिएर पनि धेरै हात्ती मरेका छन्” वन अधिकृत पाठकले भने ,“तर प्रमाण नजुट्दा हात्ती मार्ने कार्यमा संलग्नलाई कारबाही गर्न सकिएको छैन ।” करेन्ट लगाएर हात्ती मार्ने कार्यमा धेरैजनाको संलग्नता रहने गरेपछि मुद्धा चलाउन सजिलो नभएको एक वन अधिकृतले बताए । उनले राजनीतिक कारणले गर्दा पनि हात्ती मार्नेहरुलाई कार्वाही गर्न नसकिएको स्वीकार गरे ।

गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको वीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

ऐनमा कडा सजायको व्यवस्था हुँदाहुँदै प्रहरी प्रशासन लाचार बन्दा संरक्षित वन्यजन्तु हात्तीमाथि अपराध बढ्दै गएको हो । मानव–हात्तीबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ । त्यस द्वन्द्वलाई न्यूनीकरण गरी सहअस्तित्वको वातावरण निर्माण गर्नुपर्ने आवाज उठिरहेको अबस्थामा हात्तीमाथि अपराध बढ्दै गएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्