झापा, बैशाख २८ । दुर्गा प्रसाईको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को नागरिक युवा दस्ताले बिर्तामोडका तीन वटा बैंकमा गरेको तोडफोड घटनाप्रति चौतर्फी विरोध भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघले आज बिर्तामोडका जनप्रतिनिधि, वस्तुगत संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, उद्योगी व्यवसायी, बंैकर्स एशोसिएसन, सुरक्षा निकाय तथा राजनैतिक दलसंग गरेको छलफलमा त्यस तोडफोडको घटनाप्रति सबैले निन्दा र भर्त्सना गरेका हुन् । छलफलले व्यवसायीको व्यवसाय गर्ने हकलाई कसैले कुण्ठित गर्न नहुने निष्कर्ष निकालेको छ । छलफलमा वाणिज्य संघले कर्जाको बिषयलाई लिएर व्यवसायीलाई अनावश्यक दबाब नदिन बैंकहरुलाई अपिल गरेको थियो । साथै आर्थिक मन्दीका कारण व्यवसायी समस्यामा रहेकाले व्यवसायीलाई कर्जा र व्याजका बिषयमा दबाब नदिन बैंक तथा वितीय संस्थालाई अनुरोध गरिएको अध्यक्ष राजु न्यौपानेले बताए ।

नागरिक युवा दस्ताका कार्यकर्ताहरुले एभरेष्ट बैंक, ज्योति विकास बैंक र एनआइसी एसिया बैंकमा ढुंगा हानेका थिए । ढुंगा प्रहारबाट एभरेष्ट बैंक रहेको घरको १५–१६ वटा सीसा फुटेको छ भने ज्योति विकास बैंकमा सामान्य क्षति पुगेको छ । एनआइसी एसिया बैंकमा भने क्षति भएको छैन । बैंकलक्षित तोडफोडका क्रममा बिर्तामोडका घरधनी तथा व्यवसायी निर्मल भट्टराई, हरि मिश्र र दिपेश पाठकको घरमा क्षति पुगेको जनाइएको छ ।

बिर्तामोडको शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई आग्रह गर्दै पछिल्लो समय बढ्दै गएको चोरीका घटनाप्रति पनि संवेदनशील हुन अनुरोध गरिएको अध्यक्ष न्यौपानेले बताए । साथै सुरक्षा व्यवस्था सहज बनाउँदै बैंक तथा वितीय संस्था संचालनको वातावरण बनाउन स्थानीय प्रशासनलाई हार्दिकतापूर्वक अनुरोध गरिएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्