झापा,बैशाख २९ । झापाको कमल गाउँपालिकाले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई पालिकाले दिने सेवा सुविधा रोक्का गर्ने निर्णय गरेको छ । हात्तीपाइले रोगविरुद्धको औषधी खाएको प्रमाण देखाएपछि मात्र सेवा प्रदान गर्ने निर्णय गरेको हो । झापा हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जिल्ला हो ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यस्तो निर्णय गरिएको हो । औषधी सेवन गर्न नमान्ने र औषधी लिएर घरघर गएका स्वास्थ्यकर्मीहरूलाई हप्कादप्काइ गर्ने प्रवृत्ति बढेपछि गाउँपालिकाले अनिवार्य औषधी सेवन गर्न बाध्य बनाएको हो ।

हात्तीपाइले (फाईलेरिया) रोगले मानिसलाई नराम्रो गरी शारीरिक रूपमा असक्त बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट सङ्क्रमण भए पछि लाग्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्ने भएकाले सबैले सचेतना अपनाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

कमल गाउँपालिकामा यही वैशाख १६ देखि ३० गतेसम्म कमल गाउँपालिकाको सम्पूर्ण घरधुरीहरूमा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गराउन तालिम प्राप्त स्वास्थ्यकर्मीहरू घरदैलो अभियानमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए ।

यस वर्ष हात्तीपाइलेविरुद्धको औषधी अन्तिम पटक सेवन गर्नुपर्ने भएकाले हात्तीपाइले रोगको पूर्णरुपमा निवारणका लागि स्वास्थ्यकर्मीहरूबाट अनिवार्य रूपमा औषधी सेवन गरी कार्ड लिन सबैलाई सचेत गराइएको शाक्यको भनाइ छ । कार्ड नभए सेवा नदिन सबै मातहतका कार्यालयहरूलाई परिपत्र गरिएको छ, शाक्यले भने ।

गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका भित्रका कार्यालयबाट सेवा प्रदान गर्दा यसै सातादेखि अनिवार्य हात्तीपाइले विरुद्धको आम औषधी सेवन गरेको प्रमाणित कार्ड अनिवार्य गरिएको छ उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्