झापा,बैशाख ३० । बैशाख महिना लागेसँगै नेपालबाट भारत निकासी हुने नेपाली चियालाई भारतले पटक पटक सिमानामा रोकिदिएपछि चिया किसान र व्यवसायी समस्यामा परेका छन् । भारतले पछिल्लो पटक एकसातायता पुनः नाकामा चिया रोकिदिएको छ ।

चियाको प्रयोगशाला परीक्षण गर्ने बहानामा भारतले पछिल्लो पटक एक सातायता नेपाली चिया रोकेको हो । गएको बैशाख पहिलो साता पनि रोकिएको चिया खुला गरेको केही दिनमै पुुनः भारतले रोकिदिएको इलामको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए ।

“अहिले सिटिसी चियाका गाडी भारतको पानी ट्याङ्कीमा रोकिएका छन् । चियामा पुनः अवरोध भएपछि हामीले यहाँबाट चिया पठाएका छैनौँ,” कट्टेलले भने, “प्रत्येक गाडीको प्रयोगशाला परीक्षण गर्नुपर्ने भारतको सर्त हुन्छ । प्रत्येक गाडीलाई पानी ट्याङ्कीमा लगेर कम्तीमा १५ दिन उभ्याउन हाम्रो खर्चले धान्दैन ।” कट्टेलका अनुसार एक गाडी चियाको नमुना पठाएर त्यसको रिपोर्ट आउन करिब १५ दिन पर्खिनु पर्छ । १५ दिनसम्म भारतीय भूमिमा पुगेको गाडीको खर्च नै धान्न नसक्ने अवस्था रहेको कट्टेल बताउछन् । यसरी परीक्षण गर्न एक गाडी चिया पठाउँदा रिपोर्ट आउने समयसम्म करिब एक लाख भारतीय रुपियाँ खर्च हुने गरेको बताइएको छ । “हिजो मात्र एक गाडी अर्थोडक्स मैले पनि पठाएँ, कति दिन नाकामा कुर्नुपर्ने हो टुङ्गो छैन । अहिले अर्थोडक्स र सिटिसी चिया बोकेका करिब ४० वटा गाडी नाकामा थन्किएका छन्,” कट्टेलले भने ।

“अस्ति प्रधानमन्त्रीलाई हामीले ज्ञापनपत्र बुझाएर चिया खुला गर्ने वातावरण बनाउन माग ग¥यौँ । तत्कालका लागि गाडी खुला भए, फेरि केही दिनमै अवरोध कायम छ,” कट्टेलले भने, ‘‘हामीले गत वर्ष जस्तो चियाको प्रयोगशाला परीक्षण गरेपछि कम्तीमा तीन महिना त्यही रिपोर्टलाई आधार मान्नुपर्ने आवाज उठाउँदै आएका छौँ तर सरकार चियाप्रति गम्भीर देखिएको छैन ।” गुणस्तरीय चिया उत्पादनको मुख्य यो याममा इलाममा मात्रै करिब ११ लाख किलो तयारी चिया गोदाममै थन्किएको छ ।

इलाम र पाँचथरबाट निकासी हुने अर्थोडक्स चिया प्रायः जसो नासा, आइओएम जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट अर्गानिक प्रमाणीकरण भएर निकासी हुने गरेको पनि व्यवसायीको भनाइ छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा दुई अर्ब १८ करोड ८९ लाख २२ हजार रुपियाँ बराबरको ९८ लाख चार हजार ११ किलो चिया निकासी भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ६६ करोड ५४ लाख १८ हजार रुपियाँ मूल्यको एक करोड ३३ लाख ११ हजार तीन सय ४८ किलो चिया निकासी भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्