
झापा,बैशाख ३० । अज्ञात समूहले आइतबार भरतपुरमा एक स्कुल बसमा आगजनी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित दद्रेनी पुलमा स्मल हेभन स्कुलको बसमा आगजनी भएको हो ।
भरतपुर कल्याणपुरमा रहेको स्कुलबाट विद्यार्थी ओसार्न अमृतनगरतर्फ गइरहेको बसमा आगजनी भएको विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिए ।
चारवटा मोटरसाइकलमा आएका छ जनाको समूहले बस रोकी पेट्रोल छर्किएर आगजनी गरेको बताइन्छ । उनीहरु आगजनी गरेर फरार भएका छन् । आगजनीबाट बा ०६००१ क ००४५ नम्बरको बस पूर्णरुपमा क्षति भएको छ ।
प्रध्यानाध्यापक न्यौपानेले कसले र कुन उद्देश्यले बसमा आगजनी गरे भन्ने नखुलेको बताए । स्मल हेभन काठमाडौंको लिटल एन्जल्सको समन्वयमा चलेको स्कुल हो ।