झापा,बैशाख ३१ । बैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ ।

लामो समय सुक्खा खडेरी हुँदा बैशाखमा मात्र देशभर आगलागीका आठ सय ६१ र डढेलोका पाँच सय ७३ घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका घटनामा परी २० जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए । डढेलोका घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए ।

आगलागीबाट एक हजार तीन सय ६४ र डढेलोबाट चार सय ७ घरपरिवार प्रभावित भएका थिए । त्यस्तै यस अवधिमा चट्याङबाट आठ जना, उचाईमा लेक लागेर दुई, बाढी र जनावरको आक्रमणबाट एक÷एक जनाको मृत्यु भएको थियो । वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार बैशाख महिनामा मात्र यति धेरै डढेलोका घटना भएको सम्भवतः पहिलो पटक हो ।

नेपालमा खास गरी माघदेखि जेठसम्म बढी आगलागी र डढेलो लाग्ने गरेको छ । नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ । डढेलोका कारणमध्ये स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ ।
वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको उनले जानकारी दिए । कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ । पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बिचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि भएको पाइएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्