दमक, जेठ १ । झापाको दमकमा एकै परिवारका पाँचसहित आठजनामा हात्तीपाइले रोग भेटिएको छ ।

सांकेतिक तस्वीर

हात्तीपाइलेविरुद्ध आम औषधि सेवन गराउने क्रममा हात्तीपाइलेको संक्रमण भएका बिरामीहरु भेटिएका हुन् । दमक वडा नम्बर ९ मा एकै परिवारका पाँचजनामा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको हो । घरमुली र परिवारका अन्य सदस्यसहित तीन महिला र दुई पुरुषमा हात्तीपाइलेको लक्षण देखिएको दमक नगर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईले बताए ।त्यस परिवारमा आमाबाहेक अन्य सदस्यहरु घर बाहिर रहेका छन् । घरमा रहेका सदस्यलाई औषधि सेवन गराई आसपासमा जाँच तथा औषधि सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु परिचालन गरिएको भट्टराईले जानकारी दिए ।

त्यस्तै दमकको वडा नं १ मा दुईजना र वडा नं ६ मा एकजना हात्तीपाइले रोगी भेटिएको स्वास्थ्य शाखाले जनाएको छ । दमक नगरपालिकाले बैशाख १६ देखि ३० गतेसम्मको पहिलो चरणको आम औषधि सेवन अभियानमा ८१ हजार ७३६ अर्थात ७२.९५ प्रतिशतलाई औषधि गराएको छ । थपिएको १० दिनको समयमा लक्ष्यअनुसारको औषधि सेवन गराइने स्वास्थ्य प्रमुख भट्टराईले जानकारी दिए । दमक नगरपालिकाले योपटक ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । गत वर्ष दमक नगरपालिकामा ८१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्