झापा, जेठ २ । ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध संघर्षरत समूहले आव्हान गरेको दुईदिने यातायात बन्दको झापा र इलाममा खासै प्रभाव परेको छैन ।

आफ्नो मागविपरीत क्रियाकलाप सुरु गरिएको भन्दै संघर्षरत समूहले मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हो । मेची राजमार्गमा बिहानैदेखि यातायात संचालन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगूले बताए ।

त्यस्तै झापाबाट पनि मेची राजमार्ग हुँदै सवारी साधनहरु संचालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् । तर,बन्दका कारण ताप्लेजुङमा यातायात चलेका छैनन ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुम चुम्लुङ संघीय समितिलगायतका संघ संस्थाको आयोजनामा बन्द गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्