झापा,जेठ २ । भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरूको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मीर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको छ ।

नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मीर पुर्‍याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो । कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ ।

मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरी दिल्ली लगिएको थियो । उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर काम गर्न भन्दा गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताए । उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताए । नालाको काम भनेर लगेकोमा छतको काम गर्न लगाएको बताए ।

त्यस्तै धनुषाका रञ्जित चौधरीले मोबाइल, नागरिकता, पैसाहरू सबै खोसेर राखेको बताए । काम लगाउनेले मार्नेसम्मको धम्की दिएको उनले बताए । काम भनेको नमाने आतंकवादी भनेर पक्राउ गर्न लगाउने धम्की दिने गरेको उनले बताए । झन्डै ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दूतावास, जम्मुकश्मीर पुलिस, क्राइम ब्रान्च, सिआरपिएफको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो ।

घटनामा आबद्ध दुई जना अभियुक्तलाई पनि पक्राउ गरिएको बताइएको छ । उनीहरूलाई २ वटा कोठामा ताला लगाएर राखिएको थियो । नेपाली कामदारलाई एउटै कोठामा थुनेर राखिएको थियो । बसेकै कोठामा दिसापिसाव गर्नुपर्ने, दुई समय खान पनि नदिने र कश्मीर पुगेको दिनदेखि नै नुहाउनसमेत नदिइएको उनीहरुले बताए । सोही समूहबाट भागेर नेपाल आएका पीडित युवकले नेपालमा कुनैपनि नेताले सहयोग नगरेको बताए ।

सुरुमा ४ जना नेपालीलाई लिएर गएको र पछि ७ जना भागेको उनीहरुले बताए । ठेकेदारको बन्धकबाट भागैका ७ जनामध्ये एक जनाले आफले भोगेका यातनाहरूबारे आफ्नो आफन्तहरूको खबर गरेपछि सामाजिक अभियन्ता सरोज रायले उद्धारको लागि पहल सुरु गरेको बताए । सो समूहमा तीन महिनाअघि ४३ जना नेपाली कामका लागि गएका थिए ।

उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको छ । घटनामा संलग्न मुख्तकिम आलम र मो. साजादलाई पक्राउ गरिएको छ भने जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन् । उनीहरुविरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्