कुमरखोद , जेठ ३ । झापाको झापा गाउँपालिका वडा नं.४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयमा अहिले २ जना प्रधानाध्यापक कार्यरत रहेका छन् ।

प्रधानाध्यापक हुने भाग्यमानी व्यक्तिहरु हुन् गोपीप्रसाद पराजुली र विरेन्द्रप्रसाद गुप्ता । एउटै विद्यालयमा दुईजना प्रअ भएपछि शिक्षक कर्मचारीहरु दोधारमा परेका छन् । कुन प्रधानाध्यापकको आदेश मान्ने कुनको नमान्ने । प्रधानाध्यापकसंगै शिक्षकहरु पनि दुई खेमामा बाँडिएका छन् । कोही शिक्षक पराजुलीको पक्षमा छन् भने कोही शिक्षक गुप्ताको पक्षमा । कसैलाई पनि विद्यार्थीको भविष्यको मतलव छैन । अहिले डिल्लीराज मावि राजनीति गर्ने अखडा बनेको छ । झापा गाउँपालिका कार्यालयको गत बैशाख १३ गतेको बैठकले पराजुलीलाई निमित्त प्रअको जिम्मेवारी दिँदै पूर्णकालीन प्रधानाध्यापक रहेका गुप्तालाई पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।तर, प्रअबाट गुप्तालाई हटाउने निर्णय विद्यालय व्यवस्थापन समितिले अस्वीकार गरेको छ ।


प्रधानाध्यापक गुप्तालाई पदमुक्त गरेपछि विद्यालय व्यवस्थापन समितिका बहुसंख्यक सदस्यहरुको हिजो बैठक बसेको थियो । शिक्षा ऐन २०२८( संशोधन सहित ) शिक्षा नियमावली २०५९ ( संशोधन सहित )को नियम ९३(९) को बमोजिम र नमुना विद्यालय विकास तथा संचालन निर्देशिका २०७४ ( संशोधन सहित ) को दफा ८.१ को ( घ) बमोजिम विद्यालयको प्रधानाध्यापकलाई पदबाट हटाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई मात्र रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाम शेखले बताए । प्रधानाध्यापक गुप्तालाई झापा गाउँपालिकाले पदबाट हटाउने कानुनी अधिकार नभएको र नेपालको संविधान धारा ५७ (६) मा पालिकाले निर्माण गरेको संघीय कानुनसँग बाँझिएकोले आफूहरुलाई अमान्य भएको शेखले जिकिर गरे । अध्यक्ष शेखले गाउँपालिकाले बैशाख १३ गते गरेको निर्णयलाई मान्न आफूहरु बाध्य हुन नपर्ने भन्दै गुप्तालाई नै प्रधानाध्यापकको पदमा रहिरहन निर्णय गरेका छन् । उक्त बैठकले निमित्त प्रधानाध्यापकको आवश्यकता नभएको भन्दै पराजुलीलाई शिक्षकको भूमिकामा नै रहेर आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिएको छ ।

झापा गाउँपालिकाले बैशाख १३ गते प्रधानाध्यापक गुप्तालाई पदमुक्त गर्ने निर्णय गरेपछि उनको ठाउँमा सोही विद्यालयको सहायक प्रअ पराजुलीलाई निमित्त प्रअको जिम्मेवारी दिएको थियो । पराजुलीलाई निमित्त प्रअ दिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत बहुसंख्यक सदस्यहरु पालिकाको निर्णयप्रति रुष्ट बनेका थिए । रुष्ट बनेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेख गुप्ताको बचाउमा उभिए । उनले प्रधानाध्यापकको पद बचाउनको लागि बैशाख १६ गते झापा गाउँपालिकालाई विपक्षी बनाई उच्च अदालत विराटनगर , इलाम ईजलासमा निवेदन दर्ता गराए । उच्च अदालतका न्यायाधीश किरण पौडेलको एकल इजलासले झापा गाउँपालिकाको कार्यालयलाई विपक्षी बनाई दिएको रिटमा अन्तरिम आदेश दिएको थियो । उच्च अदालतले विपक्षी झापा गाउँपालिकाका कार्यालयलाई १५ दिन सवुत प्रमाणसहित लिखित जवाफ पेश गर्नु भनिएको थियो । उच्च अदालतले अन्तरिम आदेश दिँदै विपक्षी झापा गाउँपालिकालाई बैशाख १३ गते गरेको निर्णयमा पराजुलीलाई निमित्त प्रअको जिम्मेवारी तोकिएको पत्र हाल कार्यान्वयन नगराई यथास्थितिमा राख्न भनी अल्पकालीन आदेश दिएको थियो ।

त्यतिबेला पराजुलीले ४ दिनका लागि निमित्त प्रअको जिम्मेवारी पाएका थिए । उच्च अदालत विराटनगर , इलाम ईजलासमा रिट निवेदक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेख प्रअ गुप्तासमेतले उठाएका विषयवस्तुका सम्वन्धमा लिखित जवाफ परी अन्तिम सुनुवाई हुँदाको वखत निरुपण हुने अवस्था देखिएको हुँदा बैशाख २४ गते अघिल्लो अन्तरिम आदेश बैशाख १७ गतेको निर्णयलाई निरन्तरता दिनु नपर्ने र कानुन वमोजिम गर्नु भनी आदेश दिइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्