लक्ष्मी उप्रेती,
मेचीनगर । गत आर्थिक वर्ष २०७९÷०८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौं र आयोगका क्षेत्रीय कार्यालयहरुमा २० हजार ९ सय ५ वटा उजुरीहरु दर्ता भएका छन् ।

आयोगको ३३ औं वार्षिक प्रतिवेदन अनुसार आव २०७९÷०८० मा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरीआएका ७ हजार १ सय ६२गरी कुल २८ हजार ६७ उजुरीहरु दर्ता रहेका छन् भने यस अवधिमा कुल उजुरीहरुध्ये १८ हजार ७ सय ९९ अर्थात ६६ दशमलव ९८ प्रतिशत उजुरीहरु फस्र्यौट भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सार्वजनिक पद धारण गरेका व्यक्तिहरुद्वारा गर्ने भ्रष्टाचारजन्य कसुरको अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडी बढाउन स्थापित एक संवैधानिक निकाय हो ।

उजुरी प्रवृत्तिको विषयमा जानकारी गराउने, भ्रष्टाचार नियन्त्रणमा जनचेतना अभिवृद्धि गर्ने गराउने, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकाबारे जानकारी गराउनेलगायतका उद्धेश्यले झापाको मेचीनगर नगरपालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रमअन्तर्गत स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण एवम् सुशासन प्रवद्र्धनसम्बन्धी एकदिने कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ बाट जिम्मेवारी सरीआएको कुल ९ सय ७४ र आर्थिक वर्ष २०७९÷०८० मा दर्ता भएका १ हजार ४ सय ३४ गरी कुल २ हजार ४ सय ८ वटा उजुरीहरु परेका थिए । कार्यालयसम्बन्धी तथ्याङ्क अनुसार उजुरीको क्षेत्रगत विवरण हेर्दा संघीय मामिला, शिक्षा, भूमिसुधार, वन, भौतिक र अन्य मन्त्रालय अन्तर्गतका रहेका छन् ।
कुल उजुरीमध्ये १ हजार ६ सय ६४ अर्थात ६९ दशमलव १३ प्रतिशत उजुरीहरु फस्र्यौट भएको कार्यालयका उपसचिव निरजकुमार देवले जानकारी दिए । उनले गरेको प्रस्तुतीकरणमा भ्रष्टाचारसम्बन्धी उजुरीको प्रवृत्तिमा बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी, सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धित, उपभोक्ता समितिसँग सम्बन्धित, प्रशासनिक कार्यसम्बन्धी, तालिम र क्षमता विकाससम्बन्धी, नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोगसम्बन्धी, सार्वजनिक जग्गाको संरक्षण सम्बन्धी, शिक्षा, वनसम्बन्धी ,बिषय क्षेत्रगतसम्बन्धी, राजस्व चुहावट र अपचलनसम्बन्धी, सेवा प्रवाहसम्बन्धी, आर्थिक सहायता र राहतसम्बन्धी, एवम् स्रोत साधनको दुरुपयोगसम्बन्धी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका कार्यालय प्रमुख सहसचिव सुरेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विगत ५ वर्षको भ्रष्टाचार अनुभूति सूचकांकमा नेपाल १ सय ८ औं स्थानमा रहेको छ । विश्वका १ सय ८० वटा देशहरु सहभागी हुने गरेका छन् । १ सय अंकमध्ये ४० वा सोभन्दा कम अंक ल्याउने देशमा भ्रष्टाचारको अवस्था भयावह रहेको मानिन्छ । ५० अंक वा सोभन्दा माथि अंक ल्याउने मुलुकमा भ्रष्टाचार नियन्त्रणमा रही सुशासन प्रवद्र्धन हुँदैं गएको मानिन्छ । निजी वा व्यक्तिगत फाइदाका लागि सार्वजनिक सम्पति, स्रोत पद र अख्तियारको दुरुपयोग गर्नु भ्रष्टाचार र सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गर्नु अख्तियारको दुरुपयोग भन्ने बुझ्नुपर्ने कार्यालयका उपसचिव देवले जानकारी दिए ।

कार्यालय प्रमुख सहसचिव न्यौपानेले भ्रष्टाचारले सरकारी सम्पतिको हानी नोक्सानी गर्ने, नागरिकलाई आफ्नो अधिकारको प्रयोगबाट बञ्चित गराउने, समाज र देशको विकासमा बाधा पुर्याउने तथा समाजमा अपराध र कुसंस्कृति फैलाउने बताए । उनले गुणस्तरीय जीवन, विविधको शासन र दिगो विकासका लागि पनि भ्रष्टाचार नियन्त्रणको आवश्यकता औल्याए । आयोगलाई निश्चित प्रक्रिया र पद्धतिमा सञ्चालनका लागि कानूनी व्यवस्थाहरु रहेको कार्यालय प्रमुख सहसचिव न्यौपानेले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारविरुद्धको रणनीतिलगायतका बारेमा उनले जानकारी दिएका थिए । लिखित निवेदन, ईमेल, वेबसाईट, हुलाक सेवा, टेलिफोन, समाचारपत्र , भाईवर, फेसबुक, एसएमएस, अन्य स्रोतबाट उजुरी गर्न सकिने छ । सवैभन्दा बढी लिखित उजुरी पर्ने गरेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा कुल उजुरीमध्ये ६ हजार ७ सय ५१ वा ३२ दशमलव २९ प्रतिशत लिखित उजुरी परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्