झापा,जेठ ४ । मोटरसाइकल दुर्घटना बढ्दै गएपछि त्यसको न्यूनीकरणका लागि झापामा ट्राफिक प्रहरीले १४ सयबढी दुई पांग्रे चालकहरुलाई ट्राफिक सचेतनामुलक प्रशिक्षण दिएको छ ।

‘दुई पांग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियानअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न ठाउँमा सचेतनामुलक प्रशिक्षण संचालन गरेको हो । पहिलो दिन बैशाख २३गते कन्काई नगरपालिका ८ लक्ष्मीपुर चोकमा ट्राफिक सचेतनामुलक जानकारीसहित २५० थान पर्चा बाँडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले बताए ।

त्यस्तै बैशाख २५ गते मेचीनगर –१३ चारआली पाउ पाथीभरा मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गमा ट्राफिक सचेतनामुलक जानकारीसहित २५० थान पर्चा वितरण , बैशाख २६ गते ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाबाट मेचीनगर ६ पुरानो भन्सार कार्यालय अगाडी पूर्वपश्चिम राजमार्गमा ट्राफिक सचेतनामुलक जानकारीसहित २५० थान पर्चा समेत बाँडिएको उनले जानकारी दिए ।त्यस्तै बैशाख २८ गते ट्राफिक प्रहरी कार्यालय दमकबाट दमक ४ ताराबारीस्थित पूर्वपश्चिम राजमार्गमा ट्राफिक सचेतनामुलक जानकारीसहित २५० थान पर्चा वितरण , बैशाख ३१ गते ट्राफिक प्रहरी कार्यालय चन्द्रगढी र ट्राफिक प्रहरी पोष्ट भद्रपुरको संयुक्त ट्राफिक प्रहरी टोलीले भद्रपुर १० देउनिया पुलस्थित बिर्तामोड– भद्रपुर सडकखण्डमा ट्राफिक सचेतनामुलक जानकारीसहित १८० थान पर्चा समेत बाँडेको थियो ।

बैशाख ३१ गते नै ट्राफिक प्रहरी पोष्ट झिलझिले र केर्खाले संयुक्त रुपमा झापा शिवसताक्षी १ धरमपुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्राफिक सचेतनामुलक जानकारीसहित २५० थान पर्चा वितरण गरेको ट्राफिक प्रमुख न्यौपानेले बताए । १ हजार ४०० बढी दुई पांग्रे चालकहरुलाई ट्राफिक सचेतनामुलक जानकारी गराइएको र १हजार ४०० भन्दा बढी पर्चा समेत वितरण गरेको बताउँदै न्यौपानेले अन्य स्थानहरुमा पनि सो कार्यक्रम संचालन गरिने जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकलका यात्रु हुने गरेकाले दुई पांग्रेका चालकलाई लक्षित गरी अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा झापामा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु भएको थियो । त्यसमध्ये मोटरसाइकल दुर्घटनाका कारण मृत्यु हुने ३९ जना रहेको न्यौपानेले जानकारी दिए । उक्त अवधिमा चार सय ६३ सवारी दुर्घटना भएकामा मोटरसाइकल दुर्घटनाको संख्या दुई सय ८८ रहेको थियो ।

अभियानअन्तर्गत ट्राफिक प्रहरीको टोलीले गुडिरहेका मोटरसाइकललाई किनारामा रोकेर चालकलाई पाँच मिनेट सवारी नियम र सुरक्षासम्बन्धी प्रशिक्षण दिने गरेको छ ।साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्र गति नै मोटरसाइकल दुर्घटनाको मुख्य कारण देखिएको छ । कान छोपिने हेल्मेट लगाउन, मदिरा सेवन गरेर सवारी नचलाउन र तीव्र रफ्तारमा नकुदाउन ट्राफिक प्रहरी प्रमुख न्यौपानेले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्