झापा,जेठ ४ । डिभिजन वन कार्यालय झापाले मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि ड्रोन खरिद गरेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित रु १० लाखको लागतमा ड्रोन खरिद गरिएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।

“ड्रोनलाई मोडिफाइ गरेर लाइट र साइरन पनि जडान गरिएको छ”, उनले भने, “जङ्गलबाट बाहिर आएको हात्तीलाई ड्रोनको मद्दतले सुरक्षित रुपमा जङ्गलभित्रै पठाउने योजना छ ।” सँगै काठ र वन्यजन्तुको चोरी–तस्करी नियन्त्रण गर्ने प्रयोजनमा समेत ड्रोनको प्रयोग हुने उनको भनाइ छ ।

वनको कतिपय स्थानमा जान सक्ने अवस्था नरहेकाले ड्रोनको मद्दतबाट वनभित्रको गतिविधि नियाल्न सकिने उनले बताए । वन क्षेत्रमा प्रविधिको प्रयोग उपयोग गर्न समेत ड्रोन खरिद गरिएको र प्रभावकारी भए थप किन्न सकिने उनले बताए । ड्रोन सम्बन्धित निकायबाट इजाजत लिएर प्रयोग गरिने उनले बताए ।

कार्यालयले रु १० लाखको लागतमा खरिद गरेको ड्रोनले एक पटकमा आधा घण्टासम्म उडान भर्न सक्छ । करिब आठ किलो तौल भएको यो ड्रोनले चार सय मिटर वरपरको दृश्य कैद गर्नुका साथै साढे चार किलोग्राम तौल उचाल्न सक्ने कार्यालयले जनाएको छ । ड्रोनकै मद्दतबाट भविष्यमा बिउँलाई माथिबाट छर्न प्रयोग गर्न सकिने सोच राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्