झापा, जेठ ४ । चोरी गर्ने एक युवतीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ घर भई सुकेधारा बस्दै आएकी २० वर्षीया अनुष्का मगरलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।मंगलबार दिउँसो सुकेधारा आनन्दनगरस्थित एक घरमा चोरी गरेको उनीमाथि आरोप छ।

परिसरका अनुसार मगरले सुनको साढे एक तोलाका दुईवटा औंठी, एक तोला बराबरको ब्रासलेट, सिक्री, चुरालगायत झन्डै आठ तोला बराबरको सुनका गरगहना चोरी गरेको आरोप छ। यस्तै उनले एउटा मोबाइलसमेत चोरी गरेको निवेदन परेको छ।
प्रहरीले अनुष्काको साथबाट एउटा हाते झोला, सुनको गहना राख्ने बट्टा, सुनजस्तै देखिने ११ ग्राम तौल भएको एउटा सिक्री, सुनजस्तै पहेँलो धातु २.५ ग्रामको दुई थान जुली र एउटा मोतीको माला बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम घर भई झापा बिर्तामोड बस्ने सूर्यबहादुर समाल मगर पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनी विदेशबाट आएको दोस्रो दिन जेठ २ गते आफू लुटिएको भनी घाउचोटसहित ललितपुरको गोदावरीस्थित सडकको नालीमा बसेको अवस्थामा भेटिएका थिए ।
उद्धारका लागि गएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा नाटक गरेको पत्ता लागेको थियो । अनुसन्धान टोलीले उनीसँग सोधपुछ गर्दा जेठ १ गते बिहान कतारबाट फर्किएको र राजश्व छली गरी ल्याइएको सुन सोही दिन झापाको बिर्तामोडस्थित घरमा पुर्याएको बयान दिएका छन् ।

त्यसपछि सुन आफ्नो बनाउने योजना बुनेर उनी जेठ २ गते जहाजमार्फत काठमाडौँ आई ललितपुरको गोदावरीस्थित सडक किनारको नालीमा बसेका थिए । अपरिचित व्यक्ति घाइते अवस्थामा लडिरहेको भन्ने सूचना आएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट उनलाई उद्धार गरी नमस्ते मेट्रो अस्पतालमा प्राथमिक उपचार गरेको थियो ।
सोही दिन प्रहरीमा ल्याएर अनुसन्धान गर्दा आफूले आफैलाई शरीरमा चोटपटक लगाई हातखुट्टा बाँधेर गोदावरीस्थित सडक किनारको नालीमा बसेको भेटिएको रेग्मीले बताए।

उक्त सुन इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वयमा निजको घर कोठाको खानतलासी गरी बरामद गरिएको छ । उनको साथबाट सुनको ब्रासलेट एक थान, सुनको बेरुवा औँठी एक थान, मोबाइल एक थान र ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्