लक्ष्मी उप्रेती,
मेचीनगर । १७ बैशाखमा झापामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा गोली चल्यो । झापा गाउँपालिका वडा नम्बर ३ कामाटोलीस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तलामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कारोवारीलाई नियन्त्रण लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रतिरक्षास्वरुप प्रहरीले गोली चलाएको थियो । पछिल्लो समय लागूऔषधमा निगरानी बढाउँदै झापा प्रहरी त्यसविरुद्ध निकै आक्रामकरुपमा प्रस्तुत हुन थालेको छ ।

पछिल्लो समय लागूऔषध ओसारपसार तथा सेवनकर्ताको बिगबिगी बढेसँगै झापा प्रहरी पनि उनीहरुलाई नियन्त्रणमा लिन र कानुनी कारवाही गर्न सक्रियतापूर्वक लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरी लागूऔषध ओसारपसारको संगठित जालोलाई तोडेर कानुनी कारबाहीमा तीव्रता दिन पनि पछिल्लो समय निकै आक्रामकरुपमा प्रस्तुत हुँदै लागूऔषध नियन्त्रणमा निगरानी बढाउँदै आएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
लागूऔषध प्रयोगकर्ताका कारण जिल्लामा विभिन्न आपराधिक क्रियाकलापमा वृद्धि हँुदै गएका कारण पनि प्रहरी त्यसविरुद्ध कडारुपमा प्रस्तुत भएको उनको भनाई छ । जिल्लामा पछिल्लो समय लागूऔषधका मुद्धाको चाङ पनि निकै ठुलै छ । जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को दश महिनामा यसमा संलग्न स्वदेशी र विदेशी गरी कुल ३ सय ७२ जना पक्राउ परिसकेका छन् ।

प्रहरी नायव उपरीक्षक चन्दका ३ सय २५ पुरुष र २५ महिलागरी कुल स्वदेशी ३ सय ५० जना र १८ पुरुष र ४ जना महिला गरी कुल २२ जना विदेशीलाई झापा प्रहरीले नियन्त्रणमा लिएको हो । सोही अवधिमा लागूऔषधका २ सय ४० वटा मुद्धा दर्ता भएका छन् । सो अवधिमा खैरो हिरोईन १ हजार ९ सय ४४ ग्राम ४ हजार ६ सय ४० मिलिग्राम र २६ केजीभन्दा बढी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । चोरी, झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेका छन् । प्रहरीको अभिलेख अनुसार हरेक महिना यस्ता मुद्धाका घटनामा बढोत्तरी हुँदै गएको छ ।

चालु आवको शुरु साउन महिनामा ३४ पुरुषसहित ३७ जना पक्राउ परेका थिए । बैशाख महिनासम्म आइपुग्दा ४९ पुगेको छ । सवैभन्दा बढी फागुनमा ५१ स्वदेशी पुरुष, ७ स्वदेशी महिला ,२ विदेशी पुरुष र १ विदेशी महिला गरी कुल ६१ जना पक्राउ परेका छन् । त्यो महिना प्रहरी कार्यालयमा ३९ वटा मुद्धा दर्ता भए । ७० ग्राम ५ सय मिलिग्राम गाँजा र ३ सय ३५ ग्राम ९ सय ९० मिलिग्राम खैरो हिरोइन प्रहरीले फेला पारेको थियो । चन्दका अनुसार चैतमा ५५ स्वदेशी पुरुष, २ स्वदेशी महिला र २ विदेशी पुरुषगरी कुल ५९ जना मानिस पक्राउ परेका छन् । त्यो महिना लागूऔषध सम्बन्धका ३७ वटा मुद्धा दर्ता भएका थिए । १ केजी ४ सय ७९ ग्राम ४ सय मिलिग्राम गाँजा चैतमा प्रहरीले बरामद गरेको थियो ।

साउनमा लागूऔषधका २५ वटा मुद्धा दर्ता हुँदा ४ केजी ४ सय ५० ग्राम २ सय ८० मिलिग्राम गाँजा र ८७ ग्राम हिरोइन प्रहरीले नियन्त्रणमा लिएको थियो । भदौ महिनामा ४२ जना मानिससहित १० केजी १ सय ७ ग्राम गाँजा र ४ सय ५५ ग्राम हिरोइन , असोज महिनामा ४१ जना मानिस र १ केजी ६ सय ७० ग्राम गाँजा र १ सय ७६ ग्राम ४ सय ४० मिलिग्राम हिरोइन, कात्तिक महिनामा लागूऔषधका १० वटा मुद्धा दर्ता हुँदा १७ जना मानिस पक्राउ परेका छन् । ३२ ग्राम ७ सय मिलिग्राम हिरोइन प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । मंसिरमा १२ पुरुष, ३ महिला स्वदेशी र २ पुरुष विदेशीसहित १७ जना मानिस पक्राउ परेका थिए । ११ वटा मुद्धा दर्ता हुँदा ७० ग्राम ४ सय ७० मिलिग्राम हिरोइन बरामद गरेको अभिलेखमा उल्लेखमा छ । पुसमा १४ जना पक्राउ र ९ वटा मुद्धा दर्ता भएका छन् भने १ सय ६२ ग्राम २ सय ७० मिलिग्राम हिरोइन बरामद भएको छ । माघ महिनामा ३५ जना पक्राउ र २६ वटा मुद्धा दर्ता भएका छन् । त्यो महिना २ सय ५० ग्राम गाँजा र ३९ ग्राम ३ सय २० मिलिग्राम हिरोइन बरामद भएको छ ।

बैशाखमा ४२ जना स्वदेशी पुरुष, २ स्वदेशी महिला, ५ विदेशी पुरुषगरी कुल ४९ जना मानिस पक्राउ परेका थिए भने लागूऔषधका २९ वटा मुद्धा दर्ता भएका थिए । १ सय २ ग्राम ९ सय २० मिलिग्राम गाँजा र ३ सय ९८ ग्राम ८ सय मिलिग्राम हिरोइन बैशाखमा प्रहरीले बरामद गरेको थियो । एकजना प्रहरी अनुसन्धान अधिकृतका अनुसार चोरी गरी भाग्न सजिलो भएका ठाउँ, उज्यालो नभएको र सुरक्षाका पर्याप्त साधनहरु नअपनाइएका पसललगायतमा बढी चोरी हुने गर्दछन् । यस्ता घटनामा अधिकाँश लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिन्छ । उनका अनुसार ७० देखि ९० प्रतिशत आपराधिक घटनामा लागूऔषधका प्रयोगकर्ता संलग्न हुने गरेका छन् । बजारदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोगकर्ताहरु रहेका छन् ।
लागूऔषधका सेवनकर्ता र कारोबारीहरुको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्दासमेत चलाउँदै आएको उनको भनाई छ । यसकारण पनि लागूऔषध प्रयोगकर्ता र कारोबारीहरुमाथि निगरानी बढाईएको प्रहरीको भनाई छ । आफूहरु एक्लैको प्रयासले लागूऔषधको जालो भत्काउन गाह्रो हुने प्रहरीको भनाई छ ।

युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउनका लागि कार्य अगाडि नबढाइए यसले डरलाग्दो अवस्थामा पु¥याउने मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । लागूऔषधको प्रयोगलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले सचेतना कक्षा सञ्चालन गरी किशोर र युवाहरुलाई सजग गराउने काम गर्दै आएको उनको भनाई छ । युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउन नसके असल समाजको परिकल्पना गर्न नसकिने उपप्रमुख उप्रेतीको भनाई छ ।

लागूऔषधको प्रयोगमा युवाहरुको संलग्नता बढी देखिन थालेको छ । पछिल्लो समय महिलाहरुको समेत संलग्नता देखिएको छ ।त्यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि सबैको ऐक्यबद्धतासँगै सहयोगको खाँचो रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्