झापा,जेठ ५। सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको छ।

बालुवाटारमा शनिबार बसेको सत्तारुढ दल र नेपाली कांग्रेसबीचको बैठकले संसदीय छानबिन समिति बनाउने विषयमा सहमति गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी हिनामिना प्रकरणमा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको थियो। कांग्रेसले संसद अवरुद्धसमेत गर्दै आएको थियो। निरन्तर संसद अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले जसरी पनि सहमति गर्न प्रधानमन्त्रीमाथि दबाब बढाएका थिए।

प्रधानमन्त्री दाहालले पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्न, बजेट ल्याउन र विश्वासको मत पनि लिनुपर्ने अवस्था आएकाले निकास जरुरी रहेको बताएका थिए।

सत्तापक्ष र प्रतिपक्षबीच सहकारी रकम हिनामिनामा सहमति जुटे पनि त्यसको क्षेत्राधिकारको विवाद मिलाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनेको छ ।
कार्यदलमा गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्