वीरु दर्नाल,

बिर्तामोड, जेठ ८ । कालजयी गीत संगीतका श्रष्टा संगीत सम्राट गोपाल योन्जनको शालिक स्थापना नहुनु दुखद् भएको संगीतप्रेमीहरुले बताएका छन् ।

स्वर्गीय योन्जनको २७ औं स्मृति दिवसको अवसरमा बिर्तामोडमा आयोजित स्मृति कार्यक्रमका सहभागीहरुले त्यस्तो गुनासो गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार शिवशंकर थापाले शालिक निर्माण गर्दा गोपाल योन्जनजस्ता संगीतका शिखर ब्यक्तित्वले दिएको योगदानको कदर हुने बताए । ‘संगीतकार योन्जनजस्ता बहुआयामिक ब्यक्तित्व न हिजो कोही थिए न त भोलि नै कोही होला’ भन्दै स्वर्गीय योन्जनको बहुआयामिक ब्यक्तित्वको चर्चा गर्दै थापाले गीत संगीत तथा बाद्यवादनको सबै ज्ञान भएकाले योन्जनलाई बाद्यकार पनि भनिन्थ्यो भन्दै स्मरण गरे ।

सरगम संगीतालय बिर्तामोडले सोमवार आयोजना गरेको स्मृति कार्यक्रममा संगीतालयका प्रशिक्षार्थीहरुले संगीत सम्राट योन्जन तथा स्वर सम्राट नारायण गोपालका बिभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।
प्रशिक्षार्थीहरु सदिक्षा अधिकारी , रविना आङदेम्बे , अनुजा कडरिया , आकृति विष्ट – विविदा सिग्देल ( युगल ) , उत्सव अधिकारी , विशेषता अधिकारी , सौगात संग्रौला , सोनिया घिसिङ , प्रसुन गुरागाईं , आर्यन सिटौला र युगश्री मिश्रको प्रस्तुती रहेको थियो ।

बाद्यवादनमा दिपक रायमाझी , बिमल बुढाथोकी , रंगलाल खनालले साथ दिएका थिए । संगीतालयका संस्थापक दिपक रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त स्मृति कार्यक्रममा श्रष्टाहरु हस्त परियार , कृष्ण पौडेल , मणि बर्देवा , पत्रकार तथा अभिभावक कृष्ण मिश्र , सन्तोष सुब्बालगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन लिला खत्रीले गरेका थिए । संगीत सम्राट योन्जनको मई २० , १९९७ मा निधन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्