बिर्तामोड, जेठ ९ । नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनको तयारी हुँदै गर्दा वर्तमान अध्यक्ष र सचिवले अध्यक्षमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन् ।

वर्तमान नगर कमिटी अध्यक्ष सुवास भट्टराई र सचिव शेखर कँडेलले अध्यक्षमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका हुन् । यही जेठ १३ गतेका लागि एमालेको बिर्तामोड नगर अधिवेशनको तयारी भइरहेको हिजो पत्रकार सम्मेलनमार्फत जानकारी दिइरहँदा दुवै आकांक्षीले आ–आफ्नो तयारीबारे बताएका हुन् । प्रथम नगर अधिवेशनमा जीत हासिल गरी कार्यकाल पूरा गरेका भट्टराईले आफूले एकपटक दोहोर्याउने इच्छा राखेको बताए । ‘एकपटक दोहोर्याउने इच्छा राखेको छु’ उनले भने । त्यस्तै सचिव कँडेलले पनि अध्यक्षमा उठ्ने आकांक्षा व्यक्त गर्दै भोट माग्न थालिसकेका छन् ।

२०७८ कात्तिक १६ गते एमालेको प्रथम नगर अधिवेशन सम्पन्न भएको थियो । त्यस अधिवेशनमा भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए । एमालेका पुराना नेता उमानाथ ओलीलाई १३७ मतको फराकिलो अन्तरले पराजित गरी भट्टराई निर्वाचित भएका थिए । भट्टराईले २७७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी ओलीले मात्र १४० मत पाएका थिए । यस्तै, सचिवमा कँडेल २१६ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिद्वन्दी शंकरराज ढुङ्गेलले १८६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्