झापा, जेठ १० । सरकारले सञ्चालन गर्न लागेको पोलियो रोग विरुद्धको आइपिभी खोप इलाममा यसपटक दश हजार ८८० बालबालिकालाई दिइने भएको छ । आगामी जेठ १४ गतेदेखि जेठ २१ गते सम्म खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

२०७३ वैशाख महिनादेखि ०७५ असोज महिना सम्म जन्मिएका बालबालिका पोलियो विरुद्धको ’आइपिभी’ खोपबाट छुटेको भन्दै उक्त अवधिमा जन्मिएका बालबालिकालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताए । यसका लागि ९३ स्वास्थ्य संस्था, छ सय खोप केन्द्र, एक हजार तीन जना स्वयंसेवक र एक सय ७० तालिम प्राप्त स्वास्थ्य कर्मी तयारी अवस्थामा राखिएको पण्डितले बताए ।

सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलनको लक्ष्य लिएको नेपाल सरकारले यसपटक १४ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप दिने तयारी गरेको छ । सन् २०१० पछि नेपालमा पोलियोका कुनै पनि विरामी फेला नपरे पनि अन्य मुलुकहरुबाट आउजाउ गर्ने मानिसबाट रोग सर्न सक्ने खतरालाई ध्यान दिंदै यो खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख आदित्य शाक्यले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्