दुधे, जेठ ११ । नेपाल सरकारको बहालवाला शिक्षकले राजनीतिक दलको कार्यकारी पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले शिवसताक्षीको दोस्रो अधिवेशनमा प्राथमिक द्वितीय तहमा कार्यरत शिक्षक कमल नेपालले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिको कार्यतालिका अनुसार आज दिउँसो १२ः३० देखि मतदान हुँदैछ ।
शिक्षक नेपाल शिवसताक्षी नगरपालिका वडा नम्बर ३ को पाराबारीस्थित भानु माध्यमिक विद्यालयमा कार्यरत छन् । नेपाल सरकारको शिक्षा ऐन र राजनीतिक दलसम्बन्धी बनेको ऐनमा शिक्षकलगायत सरकारका कुनै पनि कर्मचारी राजनीतिक दलको सदस्यता वा दलको कुनै पनि पदमा रहन नपाउने व्यवस्था छ ।

नेपाल सरकारको शिक्षा ऐन २०२८ को दफा १६ (ङ) उपदफा (६) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा रहन नपाउने व्यवस्था छ । राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीय स्तर, प्रदेशस्तर वा स्थानीय तह स्तरको राजनीतिक दलको कार्यकारी वा सदस्य नरहने व्यवस्था ऐनमा छ । तर, शिक्षक नेपालले आफ्नो राजीनामापत्र फेसबुकमा राखेर अध्यक्ष पदमा उम्मेदवारी दिएको कतिपयको भनाई छ ।

शिक्षकले शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा राजीनामा दिनुपर्ने कानुनी प्रावधान छ । ‘समन्वय इकाईले राजीनामा स्वीकृत गरेपछि त्यसको जानकारी स्थानीय तह र विद्यालयलाई दिनुपर्छ,’ एकजना सेवानिवृत्त शिक्षा अधिकारीले भने । उनका अनुसार जिल्लामा राजीनामा बुझाउन नसक्दा स्थानीय तहको शिक्षा शाखामार्फत जिल्लामा राजीनामा दिनुपर्ने हुन्छ । ‘फेसबुके राजीनामाले के अर्थ राख्छ,’ उनले भने ।

जानकारका अनुसार कमल नेपालको राजीनामा ‘ताक परे तिवारी नत्र गोतामे’ हो । निर्वाचन जिते पार्टीको अध्यक्ष हुने निर्वाचन हारे जागिर छँदैछ ।

उम्मेदवारीका विषयमा दावी बिरोध गर्ने समय निर्वाचन समितिले अनुपयुक्त राखेको पार्टीका कार्यकर्ताले बताएका छन् । विहीबार राति ८ बजेदेखि शुक्रबार विहान ७ बजेसम्म उम्मेदवारको दावी विरोधसम्बन्धी निवेदन दिने निर्वाचन समितिले समय तोकेको थियो । तर यो समय उपयुक्त नभएको नेकपा एमालेका एक क्षेत्रीय नेताले बताए ।

शिक्षक नेपालले कही पनि राजीनामा पत्र दर्ता नगराएको बुझिएको छ । जिल्ला, स्थानीय तह र विद्यालय प्रशासनमा कही पनि राजीनामा दर्ता भएको छैन । ‘यदि उहाँले उम्मेदवारी दर्ता गराएर निर्वाचनमा भाग लिनुभएको पाइए कानुन अनुसार कार्वाही हुने छ,’ जिल्ला शिक्षा समन्वय इकाई कार्यालय झापाका प्रमुख राजकुमार विकले भने ।

राजनीतिक दलको अधिवेशन जिल्लामा भइरहँदा जिल्ला शिक्षा समन्वय इकाईले पनि शिक्षक शिक्षिकाले उम्मेदवारी दिएको, पदमा बसेको वा निर्वाचन कार्यक्रममा भाग लिएको सुक्ष्म ढंगले बुझ्ने काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्