झापा, जेठ ११ । मोरङको उर्लाबारी नगरपालिका—३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई भद्रपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति ३६ वर्षीय सुमन श्रेष्ठ र मंगलबारे युवा क्लबका अध्यक्ष ४६ वर्षीय पिपलराज गिरी रहेका छन् । प्रहरीले श्रेष्ठ र गिरीलाई भद्रपुर ४ बाट बिहीवार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । चिकित्सक कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा तीन जनाविरुद्ध उजुरी दर्ता भएको छ । घटनामा संलग्न अर्का एक जना सानु रोक्का फरार छन् ।

उनीहरुले अस्पतालमा कार्यरत मेडिकल अधिकृत मोरङ पथरी शनिश्चरे नगरपालिका—१ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकीलाई कुटपिट गरेको आरोप छ । ३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको बताइएको छ । उनीहरुले डा. बुढाथोकीमाथि पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको जाहेरीमा उल्लेख छ ।

त्यसैगरी, ७ जेठमा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. अनिल यादवलाई आक्रमण गरेको बताएका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरिनुपर्ने र शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका थिए । आन्दोलनअन्तर्गत बुधबार अस्पतालको ओपिडी सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका थिए । चिकित्सक कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेकाले चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्