बिर्तामोड, जेठ१३ । ३३ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापाले दुईजना संचारकर्मीलाई पुरस्कृत गरेको छ ।

नेपाल प्रेस युनियन झापाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा कार्यक्रममा टंकप्रसाद रमादेवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी लुइटेल र रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट सञ्जु शिवाकोटीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मानपत्र दोसल्ला र नगद ११ हजार राशिसहित दुवैलाई पुरस्कृत गरेका हुन् । उक्त पुरस्कार टंकप्रसाद र रमादेवी पाठकका छोराबुहारी यज्ञप्रसाद–सकुन्तला पाठक र कृष्णकुमार–टिकादेवी संग्रौलाले दुई बर्षअघि स्थापना गरिदिएका हुन् ।

कार्यक्रममा बोल्दै कांग्रेस जिल्ला सभापति थेवेले वर्तमान सरकार लोकतन्त्र, गणतन्त्र, संघीय शासन ब्यवस्था र प्रेस स्वतन्त्रता कुल्चदै जाने षडयन्त्रमा लागेको बताए । उनले बहालवाला गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगीको विषयमा निरन्तर समाचार प्रकाशन गरिरहँदा नागरिकताको बहानामा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तारी गरेर नजरबन्दमा राख्नु आश्चर्यजनक भएको बताए । नेपालमा लोकतान्त्रिक आन्दोलनमा जनमतसंग्रह, सत्याग्रह, जनआन्दोलन २०४६–०४७ र दोस्रो लोकतान्त्रिक आन्दोलन सफल पार्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको उनले स्मरण गरे ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँईले नेपाल प्रेस युनियन आइएफजेबाट मान्यताप्राप्त पहिलो संगठन भएको भन्दै युनियनको गौरवशाली इतिहास रहेको बताए । प्रेस युनियनले लोकतन्त्र, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका विषयमा कहिल्यै सम्झौता नगर्ने उनको धारणा थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भुजित दाहाल, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, सञ्चारिका समूह झापाका अध्यक्ष लिला अनमोललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमका अधिकांश वक्ताहरुले नेपाल पत्रकार महासंघको नजिकिएको निर्वाचनमा नेतृत्व चयन गर्दा सहमति, सहकार्य र एकताको नीतिलाई अंगिकार गरेर सहमतिमै नेतृत्व चयनका लागि भूमिका खेल्न प्रेस युनियनलाई आग्रह गरेका थिए ।

प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष इन्दु पूर्वेलीले स्वागत गरेकी थिइन् भने सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्