झापा, जेठ १४ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ पाथीभरामा सोमवार अपरान्ह करिब ५ बजे मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा छथर जोरपाटी–५ ताम्लिङका ४५ वर्षीय बीरबहादुर खनाल रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

बाँधबिसौनाबाट स्थानीय डेगबहादुर अधिकारीको शव बोकेर दाहसंस्कारका लागि तमोर नदीको त्रिवेणी जानेक्रममा को १ त ९७३७ नंबरको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।
ट्रयाक्टर सडकबाट करिब एक सय मीटर तल खसेको जनाइएको छ । तीन वटा ट्रयाक्टरमा मलामी सवारमध्ये एउटा ट्रयाक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा समीर लिम्बु, नगेन्द्र थापा, अर्जुन थापा, थर्कबहादुर अधिकारी, ध्रुबबहादुर अधिकारी, रेगिन्द्र अधिकारी, भीमबहादुर काफ्लेलगायत १८ जना मलामी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए ।

घाइते अधिकांशको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये चार जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्