झापा, जेठ १५ । अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।

आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति प्रदान गरेको हो ।

झापाका सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई तेस्रो वर्षको कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि झापाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख राजकुमार विकको उपस्थितिमा जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा छात्रवृत्ति पाउने विद्यार्थीसमेत उपस्थित थिए ।

झापाली समाज अमेरिकाले एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियान नै सञ्चालन गरेर रकम संकलन गरेको थियो ।

यसैबीच, झापा जिल्ला सहकारी संघले छात्रवृत्ति कोषको घोषणा गरेको छ । एक करोड रुपैयाँ कोष स्थापना गर्नेगरी घोषणा गरिएको हो ।

कोषका लागि संघका अध्यक्ष गणेश ढकाल र वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले एकएक लाख तथा सचिव भवानीप्रसाद दंगालले ५० रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रमका बीच झापाली समाज साउदी अरबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारीले झापाली समाज युएसएका संस्थापक अध्यक्ष मुकुन्द ढुंगानालाई छात्रवृत्ति कार्यक्रमका लागि पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

झापा जिल्ला सहकारी संघमार्फत जिल्लाका २२ वटा सहकारीले छात्रवृत्ति अभियानमा सहयोग गरेका छन् । झापाका सबै क्षेत्र समेटिने गरी सामुदायिक विद्यालयहरु छनोट गरिएको जनाइएको छ ।

यसैबीच, सोही कार्यक्रममा झापाली समाज युएसएले कनकाई नगरपालिकालाई शव बहानको चाबी हस्तान्तरण गरेको थियो । झापाली समाज युएसएको पहलमा रकम संकलन गरी शव बहान खरिदका लागि रकम पठाइएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि विक, झापा विकास मञ्चका डक्टर आनन्द श्रेष्ठ, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोख्रेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गणेश ढकालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्