विनोद सापकोटा,
झापा । झापाको शिवसताक्षीमा सरकारी कर्मचारी कुटिएका छन् ।

सेवाग्राहीले शिवसताक्षी नगरपालिकाका कर्मचारी नन्दीकेशर भट्टराईलाई आफू अनुकूलको कागज तत्काल नमिलाइदिएको भन्दै कुटपिट गरेका हुन् । उनी वडा नम्बर १ का वडा सचिव हुन् ।

शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा सचिव भट्टराई वडा कार्यालय परिसरमै पिटिएको घटनाका प्रत्यक्षदर्शीले बताए । उनीहरुले भने, ‘वडा सचिवलाई दुईजना सेवाग्राहीले मिलाई मिलाई पिटे ।’

ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले वडा सचिवमाथि आक्रमण गर्ने स्थानीय सोमनाथ बजगाई र उनका दाजु घनश्याम बजगाईलाई पक्राउ गरिएको बताए । उनका अनुसार बिहीबार दिउँसोको यो घटनाको सूचना पाउनेवित्तिकै उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतमा कारबाहीका लागि मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको छ।

शिवसताक्षी नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपालले वडा कार्यालयको क्यान्टिनमा वडा सचिव भट्टराईमाथि टाउको, अनुहार, शरीरका विभिन्न भागमा मुक्का प्रहार गरेको बताए ।कर्मचारी आक्रमण गर्नेलाई हदैसम्मको कारबाहीको माग गर्दै शिवसताक्षी नगरपालिकाका कर्मचारीले विज्ञप्तिमार्फत प्रशासनसंग माग गरेका छन् ।

जन्मदर्ता सच्याउनका लागि बजगाई दाजुभाई वडा कार्यालयमा गएका थिए । नौ वर्ष अगाडि बनाएको जन्मदर्तामा बाबुको थरबाट जन्मदर्ता बनेको थियो। उक्त जन्मदर्ता तत्कालीन धरमपुर गाविस सचिव पूर्ण शम्सेर कुँवरले बनाइदिएका थिए ।
आवेदक बजगाईले अहिले आफ्ना नानीको जन्मदर्तामा आमाको थर पनि समावेश गर्न माग गर्दै निवेदन दिएका थिए । बजगाईकी श्रीमती कुईकेल हुन् । जन्मदर्तामा कुईकेल थर समावेशका लागि बजगाईले वडा अध्यक्षसमक्ष निवेदन दिएका थिए । उक्त निवेदनमा वडा अध्यक्ष लक्ष्मी चेम्जोङले नियमानुसार जन्मदर्ता सच्याइदिन सचिव भट्टराईलाई तोक आदेश दिएका थिए ।

वडा अध्यक्ष चेम्जोङले सच्याइदिनु भन्ने तर,सचिवले नटेर्ने भन्दै बजगाई दाजुभाईले सचिव भट्टराईमाथि मुक्का प्रहार गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्मदर्ता दर्ता भएको मितिले १ वर्षमा सच्याउन पाईने कानुनी प्रावधान छ । तर, ९ वर्षअघिको काजगपत्र सच्याउन यतिवेला वडा सर्जमिन गर्नुपर्ने स्पष्ट व्यवस्था छ । कुटपिटबाट घाइते बनेका भट्टराईको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्