इलाम, जेठ १८ । एन्फा इलाम जिल्ला लीगको उपाधिको लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्लब भिड्ने भएका छन् ।

इलामको ठुलो टुडिखेलमा भएको सेमिफाइनल खेलमा रेडहर्सले मिलियन फ्रेन्डस् क्लब (एमएफसी) पान्दाम र त्रिवेणीले फ्रेन्डसिप युथ क्लब गोदकलाई हराउँदै उपाधि होडमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा रेडहर्सले एमएफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा रेडहर्स ४–२ गोल अन्तरले बिजयी बन्यो । रेडहर्सलाई फाइनल पु¥याउन गोलरक्षक निशम दनुवारले निर्णायक भूमिका खेले । उनले एमएफसीको २ टाइब्रेकर प्रहार बचाएका थिए । खेलको सुरुवाती अग्रता रेडहर्सले लिएको थियो । दोस्रो हाफको १४ औ मिनेटमा प्रिन्स शेर्पाले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयमा सुशान्त गुरुङले बराबरी गरे ।

दोस्रो सेमिफाइनल खेलमा त्रिवेणीले फ्रेन्डसिपमाथि ३–० गोल अन्तरको जित दर्ता गरेको हो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ११ औ मिनेटमा अबिरल राईले त्रिवेणीलाई अग्रता दिलाए । अन्तिम मिनेट र अतिरिक्त समयमा मुकेश मगरले गोल गरेपछि त्रिवेणीले रेडहर्ससंग उपाधि भेट पक्का गरेको हो । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्