वीरु दर्नाल,

बिर्तामोड , जेठ २१ । छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १८ वर्षपछि पहिलो पटक प्रहरीले जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवस मनाएको छ ।

गृह मन्त्रालयको निर्देशनमा इलाका प्रहरी कार्यालय बिर्तामोडद्वारा जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवसमा र्याली आयोजना गरिएको थियो । हरेक वर्ष जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा दिवस मनाइने गरिन्छ । ढिलो गरी मन्त्रालयबाट निर्देशन आएका कारण सीमित उपस्थितिमा सम्पन्न कार्यक्रमलाई ईलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले सम्बोधन गर्दै जातीय बिभेदजन्य कुनै पनि कार्यलाई छुट नदिने कानूनमा उल्लेख भएकोले जातकै आधारमा एकले अर्कोलाई बिभेद र कुनै पनि ठाउँमा छुवाछुत गर्न नहुने बताए । आफू विद्यार्थीकालदेखि यसबारे सचेत हुँदै आएको र अझ प्रहरी संगठनमा आएपछि यसलाई नजिकबाट बुझेको उनले बताए ।
कार्यक्रममा दलित अभियन्ता छबिलाल बिक , बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य सीता ढुंगाना , सुन्दर सामुदायिक प्रहरी केन्द्रका लक्ष्मी गौतमले कार्यक्रमबारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन प्रहरी निरीक्षक नरेश लिम्बूले गरेका थिए ।


त्यसैगरी समुदाय–प्रहरी साझेदारीअन्तर्गत जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा प्रभातफेरि निकालिएको थियो । जिल्ला प्रशासन कार्यालय झापाको प्राङ्गणबाट प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा निकालिएको जनचेतनामूलक प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिले चन्द्रगढी बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा कोणसभामा परिणत भई समापन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्