बिर्तामोड, जेठ २१ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले मनसुन–४ कार्यक्रमअन्तर्गत विषयगत प्रस्तुतीकरण तथा गोलबन्ध अभ्यास (टिटिएक्स) सञ्चालन गरेको छ ।


मनसुनको सुरुवातसँगै झापामा हुने मनसुनजन्य विपद तथा जोखिमको प्रतिकार्यस्वरुप पूर्वतयारी र विपदको समयमा गर्नुपर्ने समन्वयात्मक कार्यमा सहज होस् भन्ने उद्देश्यका साथ आज अभ्यास सञ्चालन गरिएको हो ।

कार्यक्रममा झापा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालगायत झापाका सुरक्षा प्रमुख, जिल्ला रेडक्रस सोसाइटीका पदाधिकारी, विभिन्न पालिकाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी बास्तोलाले उद्घाटन गरेको कार्यक्रममा जिल्ला प्रशासन, सुरक्षा निकाय लगायत सरोकारवाला संघसंस्थाहरुले विपद व्यवस्थापनको पूर्वतयारी, हालको अवस्था र क्षमताको सम्बन्धमा प्रस्तुतीकरण समेत दिएका थिए ।

कार्यक्रममा आधारित रहेर भोलि जेठ २२ गते मेचीनगरस्थित निचाझोडा सिमसार क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी बृहत डेमोस्ट्रेसन र वृक्षरोपण कार्यक्रम आयोजना गरिएको नेपाली सेना चारआली ब्यारेकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्