झापा,जेठ २२ । मोरङको बेलबारी नगरपालिका–५ मा बिजुलीको पोलमा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बेलबारी–५ का ६० वर्षीय टीकाराम पुरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

उनका अनुसार परिवारका सदस्य कसैलाई पनि नभनिकन पुरी सोमबार साँझ घरबाट साइकल लिएर हिँडेको खुलेको छ। राति अबेरसम्म घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका थिए।

पुरीको शव घरनजिकै सडक छेउको कुलोमा मंगलबार बिहान ५ः३० बजेतिर फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको डीएसपी बस्नेतले बताए। उनका अनुसार बिजुलीको पोलमा ठोक्किँदा साइकलसहित कुलोमा लडेर पुरीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मादक पदार्थ सेवन (मापसे) गरेर साइकल चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पुरीले अत्यधिक मापसे गर्ने गरेको पत्ता लागेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको छ।

दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। घटनासँग सम्बन्धित थप कुरा अनुसन्धानपछि पत्ता लाग्ने डीएसपी बस्नेतले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्