झापा, जेठ २४ । यस वर्ष बाढीको उच्च जोखिममा रहेको झापामा पूर्वसूचना प्रणालीलाई जोड दिँदै विभिन्न स्थानमा साइरन जडान गरिएको छ ।

मनसुनजन्य विपद्को क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीब्रता दिइएको हो । जल तथा मौसम विज्ञान विभागले करिव दुई साताअघि जिल्लाको निन्दा र बिरीङ खोलामा एक–एक वटा साइरन जडान गरेको छ । यसअघि नेपाल रेडक्रस सोसाइटीको पहलमा कन्काई नदीको ९ ठाउँमा साइरन जडान गरिएको थियो । करिव ६ वर्षअघि कन्काईको विभिन्न ठाउँमा ९ वटा साइरन जडान गरिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि झापामा साइरन जोड्ने भएको छ । सप्तरी, रौतहट, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका अति जोखिमयुक्त १३ स्थानीय तहका ३४ स्थानमा साइरन प्रणाली जडान गरिसकेको प्राधिकरणले झापा, चितवन, सिन्धुपाल्चोक, महोत्तरी, सुर्खेत, बर्दिया, सर्लाही ७ जिल्लाका १५ स्थानमा जडान गर्ने तयारी गरेको छ । अहिलेसम्म झापाको राजमार्ग क्षेत्रमा मात्र साइरन जडान गरिएकोमा जिल्लाको झापा गाउँपालिका , कचनकवल गाउँपालिका , बाह्रदशी गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाको अति जोखिमयुक्त क्षेत्रमा एक–एक वटा साइरन जडानको लागि माग गरिएको रेडक्रसका सभापति ढकालले बताए ।

नदी तथा खोलाहरुमा जलसतह सतर्कता तहभन्दा माथि पुगेपछि ती साइरनले आवाज दिँदै स्थानीयबासीहरुलाई सचेत गराउने गर्छन् । त्योसंगै कन्काईमा एसएमएस प्रणालीको पनि व्यवस्था गरिएको छ । कन्काईमा रहेको वर्षामापन यन्त्रले जलसतह ३.८ मिटर माथि पुगेपछि एसएमएस पठाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ । निन्दा र बिरीङमा जडान गरिएका साइरनले पूर्णता पाइनसकेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जिल्ला विपद् व्यवस्थापन समितिसंग समन्वय गरेर पूर्वसूचना प्रवाह गरिने जानकारी दिए ।

जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ६ पालिका छन्। गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा छन्।
त्यस्तै मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा छन्।

यो वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्