झापा,जेठ २४ । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था विराटनगरस्थित कोशी अस्पतालको प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गरिएको छ।

विवादास्पद छविका मेसु डा. चन्द्रभाल झालाई जिम्मेवारीबाट हटाएर सहप्राध्यापक डा. रविनराज सिंहलाई निमित्तको जिम्मेवारी दिइएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बुधबार डा. झालाई पदमुक्त गर्दै डा. सिंहलाई प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त मेसु तोकेका हुन्। वरिष्ठ कन्सलटेन्ट सर्जन डा. सिंहले यसअघि पनि कोशी अस्पतालमा निमित्त मेसुको जिम्मेवारी पाएका थिए।

सेवा प्रवाहलाई चुस्त बनाउनदेखि सरकारी अस्पताललाई उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई छोटो अवधिमै हटाएर अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. झालाई २०८० असार १८ गते मेसु तोकिएको थियो। डा. सिंहले २०७९ फागुन २ गतेदेखि निमित्त मेसुको जिम्मेवारी पाएका थिए। २०८० असार १८ सम्म अर्थात साढे ४ महिना मात्रै उनी निमित्त मेसुको भूमिकामा रहे।

यद्यपि, उनको छोटो कार्यकालमा कोशी अस्पतालमा न्यूरो सर्जरीको जटिल प्रकारको शल्यक्रिया गरेर बिरामीको सफल उपचार भएको थियो। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. सिंहको यसअघिको कार्यसम्पादन उत्कृष्ट भएका कारण उनलाई पुनः दोस्रोपटक पनि जिम्मेवारी दिइएको हो। उनी अनुभवी र स्वास्थ्य क्षेत्रका कुशल प्रशासक एवं चिकित्सक मानिन्छन्।

डा. सिंहले बिहीबार पदभार ग्रहण गरेका छन्। उनले समग्र अस्पतालको सुधार गर्नेदेखि सेवा प्रवाहलाई चुस्त बनाएर लैजाने प्रतिबद्धता जनाए। ‘मेरो कार्यकालमा सरकारी अस्पताललाई सबै हिसाबले उकास्ने प्रयत्न हुने छ,’ डा. सिंहले भने, ‘सेवा प्रवाह चुस्त बनाउँदै उपचारमा सबैको पहुँच पुर्‍याउन भूमिका खेल्ने छु।’ अब कोशी अस्पतालमा गरिब र विपन्न वर्गले सहज उपचार पाउने वातावरण बन्ने उनले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्